३, असोज २०८२
कपिलवस्तु ।बुद्धभूमि नगरपालिका–६ स्थित महुवा बाबा माध्यमिक विद्यालयमा राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गरी पुस्तकालय उद्घाटन तथा पुरस्कार वितरण गरिएको छ। कार्यक्रम रुम टु रिड र पिस नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बुद्धभूमि नगरपालिकाको सहकार्य र विद्यालयको आयोजनामा सम्पन्न भएको हो।
विद्यालयका प्रधानाध्यापक गणेश त्रिपाठीले पुस्तकालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताउँदै विद्यार्थीलाई नियमित रूपमा पुस्तक पढ्ने बानी बसाल्न प्रेरित गर्नुभयो। उहाँले “पुस्तक पढ्ने बानीले ज्ञान, चेतना र आत्मविश्वास बढाउँछ” भन्ने धारणा राख्नुभयो।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पुरी गोसामीले पुस्तकालयले जीवन उपयोगी सीप, सोच र अध्ययनमा निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा पिस नेपालकी सामाजिक परिचालक निलम मिश्रले बाल पुस्तकालयले बालबालिकामा पढ्ने संस्कार विकास गर्न र नयाँ कुरा सिक्ने अवसर दिलाउन सहयोग गर्ने बताउनुभयो।
सो अवसरमा सरोकारवालाले थप पुस्तक, सामग्री र स्रोत उपलब्ध गराउँदै पुस्तकालयलाई अझ समृद्ध बनाउन योगदान गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा पुस्तकालय व्यवस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो।