१४, असोज २०८२
जुम्ला ।जुम्लामा यस वर्षको दसैं पर्वलाई लक्षित गर्दै १० करोडभन्दा बढी मूल्य बराबरका खसी, भेडा र राँगो÷भैँसी खरिदबिक्री भएको छ। चन्दननाथ नगरपालिकाको पशुपन्छी विकास शाखाका अनुसार कुल १० करोड ५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।
शाखाले सार्वजनिक गरेको विवरणअनुसार, सबैभन्दा बढी कारोबार भेडामा भएको छ।
भेडा: ९ करोड ३४ लाख ८८ हजार रुपैयाँ (५ हजार ८४३ वटा)
खसी: ३७ लाख ४० हजार रुपैयाँ (२५६ वटा)
राँगो÷भैँसी: २६ लाख ७७ हजार ५ सय रुपैयाँ (६३ वटा)
शाखा प्रमुख विरबहादुर रावलका अनुसार, यस वर्ष स्थानीय भेडाको मूल्य अधिकतम २३ हजार, न्यूनतम ९ हजार र औसत १६ हजार रुपैयाँ तोकिएको थियो। खसीको मूल्य ८ देखि २२ हजारसम्म रहँदा औसत १५ हजारमा कारोबार भयो। त्यस्तै, राँगो÷भैँसीको मूल्य २४ हजारदेखि ६१ हजारसम्म रहँदा औसत मूल्य ४२ हजार ५ सय तोकिएको थियो।
पशु खरिदबिक्रीका लागि जुम्लामा कालीकोसहितका विभिन्न क्षेत्रबाट खसी, भेडा र राँगो÷भैँसी ल्याइएको थियो। दसैंलाई लक्षित गरेर वार्षिक रुपमा हुने यो कारोबार स्थानीय किसानका लागि आयआर्जनको मुख्य स्रोत बनेको छ।
गतवर्षको दसैंमा जुम्लामा १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ बराबरको पशु कारोबार भएको थियो। यस वर्ष कारोबार रकम घटेर करिब १० करोडमा सीमित भए पनि बजारमा उपभोक्ताले सस्तो मूल्यमा खसी, भेडा र राँगो÷भैँसी खरिद गर्न पाएको शाखाले जनाएको छ।
यसरी, जुम्लामा हुने पशु कारोबारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, किसानको आय बढाउने र पर्वलाई सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।