बर्दीयामा कडा सुरक्षाबीच भव्य दुर्गा प्रतिमा विसर्जन सम्पन्न

  • नमस्ते कर्णाली

  • १७, असोज २०८२
    बाँके ।बर्दियाको सदरमुकाम गुलरियास्थित बबई नदीको भादाघाटमा यस वर्ष पनि दुर्गा प्रतिमा विसर्जन भव्य रूपमा सम्पन्न भएको छ। करिब १२ हजारभन्दा बढी संख्यामा भक्तजनहरू घाटमा उपस्थित भई धार्मिक उत्साहपूर्वक प्रतिमा विसर्जनमा सहभागी भएका थिए।

    गाउँगाउँबाट श्रद्धालुहरू ट्याक्टर, जिप र पैदलै दुर्गा प्रतिमा बोकेर भादाघाटमा पुगेका थिए। डिजे साउन्डमा बजाइएको धार्मिक गीतको धुनमा नाचगान गर्दै श्रद्धालुहरू घाटसम्म पुगेको दृश्य निकै आकर्षक देखिन्थ्यो।

    सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने यस क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएका थिए। सुरक्षाकर्मीहरूले बजार क्षेत्रदेखि भादाघाटसम्म पैदल गस्ती र निरन्तर निगरानी राखेका कारण कुनै अप्रिय घटना घटेको छैन। विसर्जनका क्रममा केही समय यातायात अवरुद्ध भए पनि कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो।

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यस वर्ष गुलरिया क्षेत्रमा मात्रै करिब ९७ ठाउँमा दुर्गा पूजा आयोजना गरिएको थियो। प्रहरी प्रशासनले दिएको तथ्यांकअनुसार गय राति ८ बजेसम्म ८७ वटा प्रतिमाहरूको विसर्जन भइसकेको थियो।

    धार्मिक आस्था, उत्साह र सांस्कृतिक रंग मिसिएको यस वर्षको दुर्गा प्रतिमा विसर्जन गुलरिया क्षेत्रमा निकै उल्लासपूर्ण र शान्तिपूर्ण बनेको जनाइएको छ।

     

  • १७ आश्विन २०८२, शुक्रबार १५:४१ प्रकाशित

  • Nabintech