“म बालिका हुँ, संकटको अग्रपंक्तिमा नेतृत्व गर्न सक्छु” भन्ने मूल नाराका साथ कपिलवस्तुका १५ विद्यालयमा १४औं अन्तर्राष्ट्रिय बालिका दिवस सम्पन्न

आर्थिक तथा प्रातिबिध सहयोग रुम टु रुड र पिस नेपालको रहेको थियो भने आयोजकमा सम्बन्धित विद्यालय


  • नमस्ते कर्णाली

  • १५, कार्तिक २०८२
    कपिलवस्तु ।“म बालिका हुँ, संकटको अग्रपंक्तिमा नेतृत्व गर्न सक्छु” भन्ने मूल नाराका साथ कपिलवस्तु जिल्लाका १५ वटै विद्यालयमा १४औं अन्तर्राष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिएको छ।

    रुम टु रिड र पिस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रमको जानकारी पिस नेपालका बालिका शिक्षा कार्यक्रमका कार्यक्रम अधिकृत भोजसिं खड्काले दिनुभयो।

    यसै क्रममा श्री कनकमुनि माध्यमिक विद्यालय, कपिलवस्तुमा पनि विविध कार्यक्रमसहित शुक्रबार १४ औ अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको थियो।
    प्राथमिक तह (कक्षा १ देखि ५) का विद्यार्थीबीच चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो, जसमा राष्ट्रिय जनावर गाईको चित्र बनाउने विषय दिइएको थियो। प्रतियोगितामा ३३ जना विद्यार्थीले सहभागिता जनाएका थिए।


    चित्रकला प्रतियोगितामा कक्षा ४ की छात्रा रुबी दुषाध प्रथम, कक्षा ४ की नै सिमा यादव द्वितीय, र कक्षा ४ का आर्यन मुराउ तृतीय हुनुभएको छ।

    त्यस्तै, निम्न माध्यमिक तह (कक्षा ६ देखि ८) का विद्यार्थीबीच “कपिलवस्तु नगरपालिका अन्तर्गत रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाको चिनारी” शीर्षकमा निबन्ध प्रतियोगिता भएको थियो।
    निबन्ध प्रतियोगितामा १४ जनाले सहभागिता जनाएका थिए। यसमा कक्षा ८ की रिया थारु प्रथम, कक्षा ६ की सञ्जना पासवान द्वितीय, र कक्षा ८ की सुमनकुमार यादव तृतीय हुनुभएको छ।

    माध्यमिक तह (कक्षा ९ र १०) का विद्यार्थीबीच “प्राविधिक शिक्षा आजको आवश्यकता” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो।
    वक्तृत्वकला प्रतियोगितामा पाँच जनाले सहभागिता जनाएका थिए। सो प्रतियोगितामा कक्षा १० की बिपना अर्याल प्रथम, कक्षा १० की बन्धना चौधरी द्वितीय, र कक्षा १० की स्नेहा यादव तृतीय हुनुभएको हो।

    कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर खत्रीले बालिकाले आफ्नो पहिचान आफैं बनाउनुपर्ने आजको आवश्यकता भएको बताउनुभयो। उहाँले बालिकाको सशक्तिकरणले मात्र सशक्त समाज निर्माण सम्भव हुने उल्लेख गर्दै, बालिकालाई अतिरिक्त क्रियाकलापमा संलग्न हुन आग्रह गर्नुभयो।

    उहाँले भन्नुभयो, “बालिका अधिकार प्रवर्द्धन, संरक्षण, बालविवाह र विभेदको अन्त्य गरी शिक्षा र अवसरमा पहुँच बढाउन सके समाज समृद्ध बन्छ। रुम टु रिड र पिस नेपालले सञ्चालन गरेको बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रम कपिलवस्तुका विद्यालयहरूमा सकारात्मक परिवर्तन ल्याउने विश्वास आफुले लिएको बताउनु भएको छ।”

    अतिरिक्त क्रियाकलाप समितिकी संयोजक सिर्जना खत्रीले यस्ता कार्यक्रमहरूले विद्यार्थीमा थप उत्साह र आत्मविश्वास बढाउने बताउनुभयो।


    त्यस्तै विद्यालयकी शिक्षिका अनिता गुरुङले विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउँदा अत्यन्त उत्साहित भएको र भविष्यमा पनि यस्ता अवसरहरू निरन्तर दिनु आवश्यक रहेको बताउनुभयो।

    विद्यालयका सहायक प्रधानाध्यापक बंशीधर हलवाईले पुरस्कार विजेता विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझै मेहनत गर्न प्रेरित गर्नुभयो।कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


    सहभागी विद्यार्थीहरूले पनि कार्यक्रममा भाग लिन पाएकोमा खुसी व्यक्त गरेका छन्।

     

     

  • १६ कार्तिक २०८२, शनिबार १०:१४ प्रकाशित

  • Nabintech