प्रचण्डसँगको तीन दशक लामो सहकार्य टुटेपछि जनार्दन शर्मा एक्लिए, कर्णालीमै गुमाय शक्तिको आधार

  • नमस्ते कर्णाली

  • १८, कार्तिक २०८२
    सुर्खेत ।कुनै समय कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)को राजनीतिमा एकछत्र वर्चस्व जमाएका रुकुम पश्चिमका नेता जनार्दन शर्मा अहिले राजनीतिक रूपमा एक्लिंदै गएका छन्। दस वर्षे जनयुद्धका क्रममा चार जना डेपुटी कमान्डरमध्ये एक रहेका शर्माको कमान्डमा माओवादी सशस्त्र संघर्ष चरम उत्कर्षमा पुगेको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्रका रूपमा चिनिएका शर्माले तीन दशक लामो सहकार्य तोड्दै नयाँ अभियानको घोषणा गरेसँगै कर्णालीमा उनी राजनीतिक रूपमा झनै एक्लिएका छन्।

    प्रचण्डको साथमा हुँदा कर्णालीमा एकछत्र प्रभाव जमाएका शर्मालाई अहिले आफ्नै गृह प्रदेशले पनि साथ दिएको छैन। प्रचण्डले माओवाद त्याग्दै नेकपा (एकीकृत समाजवादी)सहित नौ वाम समूहसँग एकता गर्ने तयारी थालेपछि शर्माको कर्णालीमा रहेको राजनीतिक पकड कमजोर बनेको छ।

    माओवादीभित्र कर्णालीमा लामो समयसम्म जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतबीच प्रतिस्पर्धा रहँदै आएको थियो। एक समय बस्नेतसँग संगठनात्मक शक्ति र राजनीतिक हैसियतमा शर्मा निकै अघि थिए। मुख्यमन्त्री नियुक्ति, मन्त्री छनोटदेखि राजनीतिक नियुक्तिसम्म शर्माको सिफारिस निर्णायक हुने गरेको थियो। तर अहिले त्यो प्रभाव हराउँदै गएको छ।

    नयाँ अभियानको घोषणा गर्दै माओवादी केन्द्र त्याग्ने बेला शर्मासँग उनका सहोदरहरू समेत थिएनन्। पत्रकार सम्मेलन भइरहँदा उनका भाइ ओपेन्द्र शर्मा र बहिनी नारायणी शर्मा भने माओवादीको महाधिवेशन आयोजक समिति बैठकमा सहभागी थिए।

    पार्टीभित्र नेतृत्व हस्तान्तरणको माग उठाउँदै आएका शर्मालाई कर्णालीका दुई तिहाइ केन्द्रीय सदस्यले समेत साथ नदिएपछि उनी औपचारिक रूपमा एक्लिएका हुन्। हालै काठमाडौंमा सम्पन्न माओवादीको सातौँ पूर्ण बैठकमा सहभागी ६५ कर्णाली प्रतिनिधिमध्ये ५३ जनाले अध्यक्ष प्रचण्डको पक्षमा मत दिएका थिए।

    २०८० सालको महाधिवेशनमा महासचिव बन्न चाहेका शर्मालाई अध्यक्ष प्रचण्डले उपमहासचिवमा सीमित राखेपछि दुवैबीच दूरी बढ्दै गएको थियो। त्यसयता शर्माले पार्टीभित्र नेतृत्व हस्तान्तरणको मुद्दा उठाउँदै आएका थिए। तर, प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्दा उनी सहभागी नभएपछि मतभेद झन् तीव्र भएको थियो।

    अखिल (क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनमा प्रचण्डविरुद्ध प्यानल उठाएपछि शर्माको कर्णालीमा रहेको राजनीतिक बल कमजोर बन्दै गयो। प्रचण्ड निकट स्रोतका अनुसार अहिले कर्णालीका दुई तिहाइ माओवादी नेता प्रचण्डको पक्षमा उभिएका छन्।

    शर्माका विश्वासपात्र मानिएका प्रदेश अध्यक्ष विमला केसी, जिल्ला संयोजक सचिन रोका, केन्द्रीय सदस्य गोपाल शर्मा, र पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमेत प्रचण्डको पक्षमा पुगेका छन्। अहिले शर्मासँग पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, केन्द्रीय सदस्य लक्ष्मी पुन, वैकल्पिक सदस्य जन्मदेव जैशी र पूर्वनगर प्रमुख सन्देश केसीजस्ता केही सीमित नेताहरू मात्र रहेका छन्।

    कर्णालीमा माओवादी आन्दोलनको जग बसाल्ने प्रमुख नेता जनार्दन शर्मा अहिले राजनीतिक रूपमा अलग्गै बाटो रोज्दै गर्दा, उनको आगामी रणनीति र प्रभाव पुनर्स्थापना कति सम्भव हुन्छ भन्ने प्रश्न कर्णालीको राजनीतिक वृत्तमा बहसको विषय बनेको छ।

  • १९ कार्तिक २०८२, मंगलवार २२:२१ प्रकाशित

  • Nabintech