१८, कार्तिक २०८२
सुर्खेत।पोखराको पर्यटन प्रर्बद्धन गर्नका लागि ‘जाऊँ है बेगनास पोखरा’ अभियानको टोली सुर्खेतमा आइपुगेको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा पोखराको पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्नका लागि मंगलबार सुर्खेत आइपुगेको हो ।
सुर्खेतमा आएको टोलीलाई कर्णालीमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिइएको कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बताए । ‘पोखराबाट पर्यटन प्रर्बद्धनका लागि आएको टोलीलाई कर्णालीका पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिने काम भयो,’ उनले भने,‘पोखराका र कर्णालीलाई जोडेर पर्यटन क्षेत्रको विकासमा हातेमालो गर्ने सहमति भएको छ ।’
कर्णाली क्षेत्रको पर्यटन व्यवसाय पोखराको जति नफस्टाएको भएपनि यो क्षेत्रमा कर्णाली प्रदेशमा गतिबिधि बढ्दै गएको कर्णाली उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए । उनले पोखरासँग पर्यटन क्षेत्रबाट फाइदा लिन सकिने त्यसका लागि सरकारी तथा नीजि क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवद्र्धनात्मक कार्यक्रममा निस्केको होटल तथा रेस्टुरेन्ट एसोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले बताए । उनले आन्तरिक पर्यटनको प्रवद्र्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।











