बाँके राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दा वन्यजन्तु आक्रमणको त्रासमा

  • नमस्ते कर्णाली

  • १८, कार्तिक २०८२
    बाँके ।बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा पछिल्ला दिनमा वन्यजन्तुको आक्रमणबाट त्रसित भएका छन्। निकुञ्जअन्तर्गत राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँका इन्द्रबहादुर खत्रीको मृत्युपछि स्थानीयमा अझै त्रास फैलिएको छ।
    वडाध्यक्ष सोहनलाल थारूका अनुसार गत कात्तिक ८ गते रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय खत्रीको शव सोही वनको ‘चिल्लेपाटा’ भन्ने स्थानमा क्षतविक्षत अवस्थामा फेला परेको थियो। तर घटना घटेको दस दिन बितिसक्दासमेत आक्रमण गर्ने वन्यजन्तुको पहिचान हुन सकेको छैन।
    बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका बाघ र चितुवाले वरिपरिका बस्ती नजिक आक्रमणका घटना दोहोर्याउन थालेपछि स्थानीय बासिन्दा भयभीत भएका छन्। थारूका अनुसार घाँसदाउरा गर्न गएका मानिसमाथि निरन्तर जोखिम बढ्दै गएको छ।
    घटनापछि बाँके राष्ट्रिय निकुञ्जले पाँच सयदेखि एक किलोमिटर क्षेत्रभित्र नौवटा क्यामेरा जडान गरी निगरानी थालेको भए पनि हालसम्म कुनै जनावर देखिएको छैन, निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिनुभयो।
    “स्थानीयवासीलाई थप जोखिम नहोस् भन्ने उद्देश्यले प्रविधि र जनशक्ति दुबै माध्यमबाट बाघ नियन्त्रणको प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “निकुञ्जका कर्मचारी, नेपाली सेना र तीनवटा हात्ती परिचालन गरेर खोजी कार्य भइरहेको छ।”
    निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। उहाँले स्थानीयलाई वन क्षेत्रमा एक्लै नजान, विशेषगरी साँझको समयमा वन नजिक गतिविधि नगर्न अनुरोध गर्नुभएको छ।
    कँडेलका अनुसार मृतक तथा घाइतेलाई कानुनबमोजिम राहत र क्षतिपूर्ति उपलब्ध गराइनेछ।

  • १९ कार्तिक २०८२, मंगलवार २२:४६ प्रकाशित

  • Nabintech