२०,कार्तिक २०८२
बाँके ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरका इन्टर्न डाक्टरहरूले आफ्नो माग सम्बोधन नभएको भन्दै अस्पताल प्रशासनविरुद्ध आन्दोलन तीव्र पारेका छन्।
तीन दिनदेखि निरन्तर आन्दोलनरत रहेका इन्टर्न डाक्टरहरूले मंगलबारदेखि अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र लेखा अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।
उनले इन्टर्नसीप अवधिमा पाउँदै आएको मासिक भत्ता १२ हजार रुपैयाँबाट बढाएर कम्तीमा १७ हजार ५ सय रुपैयाँ पु¥याउनुपर्ने, भर्नाका क्रममा कलेजले इन्टर्नसीपका लागि उठाएको २ लाख ५० हजार रुपैयाँ अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्।
इन्टर्न डाक्टरहरूले पाउनुपर्ने सेवा सुविधा पनि नियमित रूपमा नपाएको गुनासो गरेका छन्। हाल अस्पतालमा करिब एक सय जना इन्टर्न डाक्टर कार्यरत छन्।
उता, आन्दोलन बढ्दै गएपछि अस्पताल प्रशासनले डाक्टरहरूको माग सम्बोधनका लागि वार्ता र समन्वयको प्रक्रिया सुरु गरिएको जनाएको छ। प्रशासनले चाँडै नै समस्या समाधानका लागि सकारात्मक पहल थालिने आश्वासन दिएको छ।











