बहिरा युवालाई आत्मनिर्भर बनाउन बाँकेमा१५ दिने ‘छ्वाली आर्ट’ हस्तकला तालिम सुरु

  • नमस्ते कर्णाली

  • ३०, कार्तिक २०८२
    बाँके ।बाँकेको खजुरा गाउँपालिकामा बहिरा युवालाई उद्यमशील तथा आत्मनिर्भर बनाउन १५ दिने ‘छ्वाली आर्ट’ (हस्तकला) तालिम सुरु गरिएको छ। बाँके र बर्दियाका बहिरा युवाहरु सहभागी रहेको तालिम कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र, खजुरामा सुरु भएको हो। तालिमको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले गर्नुभयो।

    राष्ट्रिय बहिरा महासंघ नेपालले नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालन गरेको तालिमले कृषिमा खेर गइरहेका सामग्रीको सदुपयोग गर्दै बहिरा युवाको सिप विकास र आयआर्जनमा टेवा पुर्याउने लक्ष्य राखिएको छ।

    गहुँबाली भित्र्याएपछि गाईबस्तुका लागि जोहो गरी राखिने ‘छ्वाली’ बाट बनेका कलात्मक वस्तुहरूलाई ‘छ्वाली आर्ट’ भनिन्छ। तालिम उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विकले बहिरा युवाले सिकेका सीपले भोलिका दिनमा उत्पादित सामग्री प्रयोग गर्न गाउँपालिका प्रतिबद्ध रहने बताउनुभयो। “सिप सिकेर आत्मनिर्भर बन्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्नेछ,” उहाँले भन्नुभयो।

    नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जीवनोपयोगी सीपमूलक तालिमले फरक क्षमता भएका व्यक्तिहरूलाई आत्मनिर्भरतामा अघि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट बनेका सामग्रीको बजार विस्तारमा मिडियाको साथ रहने प्रतिबद्धता जनाउनुभयो।

    राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीका अनुसार कृषिमा बर्बाद भइरहेका वस्तुहरूको सदुपयोग गर्दै बहिरा युवालाई सिपयुक्त बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। “छ्वाली आर्टको विदेशमै पनि राम्रो माग छ। यसलाई पेशागत विकास र आयआर्जनसँग जोड्ने हाम्रो लक्ष्य छ,” केसीले बताउनुभयो।

    बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत छ्वाली आर्टले योगदान पुर्याउने आशा महासंघले व्यक्त गरेको छ। आगामी दिनमा सातै प्रदेशमा यस्ता तालिम विस्तार गर्ने योजना रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो।

    केसीका अनुसार महासंघले काठमाडौंमा ट्रेकिङ गाइड र ‘बारिष्टा’ (कफी बनाउने) तालिम समेत सञ्चालन गरिरहेको छ, जसले बहिरा युवा तथा व्यक्तिहरूलाई रोजगारी र आत्मनिर्भरतातर्फ अघि बढ्न मद्दत गरिरहेको छ।

     

  • १ मंसिर २०८२, आईतवार ०७:५२ प्रकाशित

  • Nabintech