शीतलहर लक्षित तयारी तीव्र : बाँकेका स्थानीय तहहरू बीच आपसी सहकार्य सबैभन्दा प्रभावकारी उपाय

  • नमस्ते कर्णाली

  • १७, मंसिर २०८२
    बाँके जिल्लाका सबै स्थानीय तहहरूले शीतलहरका कारण बढी प्रभावित हुने नागरिकलाई लक्षित गर्दै यो वर्षदेखि पूर्व तयारी र प्रतिकार्य कार्यक्रमलाई थप सुदृढ बनाउने निर्णय गरेका छन्। जानकी गाउँपालिकाको आयोजनामा सम्पन्न चौथो अन्तर–स्थानीय तह समन्वय बैठकले शीतलहरबाट उत्पन्न जोखिमलाई न्यूनिकरण गर्न सामूहिक रूपमा काम गर्ने सहमति जनाएको हो।

    बैठकले जिल्लामा प्रत्येक वर्ष बढ्दै गएको चिसोको असरबाट नागरिकलाई राहत दिलाउन आपसी सहयोग, समन्वय र सहजीकरणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिद्वारा तर्जुमा गरिएको ‘शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना’लाई आधार बनाई सुरक्षा निकायको सहकार्यमा राहत सामग्री वितरणदेखि जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालनसम्मका तयारी अघि बढाइने भएको छ। आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, चिसोको जोखिममा रहेका नागरिकलाई लक्षित गर्दै व्यापक चेतनामूलक सन्देश प्रसारण गर्ने योजना पनि बैठकले अनुमोदन गरेको छ।

    त्यसैगरी, बैठकले विपद् जोखिम न्यूनीकरणका उद्देश्यले ‘जोखिम हस्तान्तरण’ कार्यक्रमअन्तर्गत बीमा प्रणालीलाई सबै स्थानीय तहहरूले अपनाउने निर्णय गरेको छ। सोका लागि नेपालगञ्ज उपमहानगरपालिकाले कोहलपुर, नरैनापुर र खजुरा गाउँपालिकामा एक महिनाभित्र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनेछ।

    दमकल सेवा थप प्रभावकारी बनाउन अन्तर–स्थानीय तह साझेदारीलाई अघि बढाइनेछ। यसअघि खजुरा र जानकी गाउँपालिकाबीच भएको प्रारम्भिक समझदारीलाई विस्तार गर्दै अन्य स्थानीय तहहरूसँग पनि सहकार्य गरी दमकल प्राप्ति, सञ्चालन र व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ। साथै, सबै स्थानीय तहहरूले वडास्तरमा विपद् स्वयंसेवक समूह गठन गरिदै आवश्यकताअनुसार परिचालन गर्ने सहमति समेत जनाइएको छ। आगामी समन्वय बैठक डुडुवा गाउँपालिकामा आयोजना गरिने ज्ञवालीले बताए।

    बैठकमा आठवटै स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, विपद् समिति संयोजक, फोकल पर्सन, सुरक्षानिकाय प्रमुख, पत्रकारलगायतको उपस्थिति थियो। कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठ र जानकी गाउँपालिकाका विपद् फोकल पर्सन राजेन्द्र बाजपेयीले संक्षिप्त प्रस्तुतीकरण दिएका थिए।

    जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा सम्पन्न बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, लुम्बिनी प्रदेशका सचिव लोकबहादुर सुनार, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा लगायतले विपद् व्यवस्थापनमा सहकार्य र स्रोत–साधनको साझा प्रयोग गर्न प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रमको स्वागत जानकी गाउँपालिका विपद् तथा वातावरण समिति संयोजक राजेन्द्र सिंहले गरेका थिए। बैठकमा दाङका राप्ती र गढवा गाउँपालिकाले पनि आफ्ना अनुभव साझा गरेका थिए।

    बाँकेमा विपद् सहयोग र समन्वयलाई संस्थागत गर्न ‘अन्तर–स्थानीय तह समन्वय सञ्जाल’ गठन गरिएको छ। यस सञ्जालले सबै स्थानीय सरकारबीच उपलब्ध स्रोत, साधन र जनशक्तिलाई सामूहिक रूपमा विपद् व्यवस्थापनमा परिचालन गर्न तथा जिल्ला र स्थानीय तहबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।

    युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी तथा सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्जमा सञ्चालित ‘सुपर कार्यक्रम’ले जिल्लाभर विपद् पूर्व तयारी र प्रतिकार्य क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको छ।

  • १८ मंसिर २०८२, बुधबार ०८:०३ प्रकाशित

  • Nabintech