१९, मंसिर २०८२
बर्दिया ।बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालन गरिएको दुई दिवसीय पशुपंक्षी स्वास्थ्य शिविरबाट स्थानीय किसानले ठूलो राहत पाएका छन्। नगरपालिकाको विकट क्षेत्रकाे रुपमा चिनिने वडा नम्बर ३ भैँसाखानी र वडा नम्बर ११ बेलभारमा आयोजित शिविरमा कुल ३,२७६ वटा पशुपंक्षीको उपचार गरिएको नगरपालिकाले जनाएको छ।
शिविरका लागि दुवै स्थानबाट ५६६ जना किसानले आफ्ना पशुपंक्षी ल्याएका थिए भने २५८ जना किसानले परामर्श सेवा लिएका थिए। पशु सेवा शाखाका प्रमुख दिपकराज थापाका अनुसार भैँसाखानीबाट २६८ र बेलभारबाट २९८ किसान सहभागी भएका थिए।
उपचार गरिएका पशुपंक्षीमध्ये १,१३५ वटा बाख्रा, ३३० वटा गाईभैँसी, १२० वटा बंगुर तथा १,६९१ वटा कुखुरा र हाँस रहेका थिए। शिविरमा स्वास्थ्य जाँच, परजीवी नियन्त्रण, भ्याक्सिन तथा अन्य आवश्यक उपचार सेवा प्रदान गरिएको थापाले जानकारी दिए। उनका अनुसार गाउँ–टोलमै सेवा पुगेकाले उपचार केन्द्रसम्म पुर्याउन नसकिएका बिरामी पशुपंक्षी उपचार गर्न किसानलाई सहज भएको छ।
बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले शिविरले किसानका दैनन्दिन समस्यामा प्रत्यक्ष राहत पुगेको बताउँदै नगरपालिकाले कृषक तथा पशुपालकको हितलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। “दुर्गम बस्तीमा सेवा पु¥याउने हाम्रो लक्ष्य हो। किसानको उत्पादन क्षमतामा वृद्धि ल्याउन यस प्रकारका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ,” मेयर थारूले बताए।
शिविर बारबर्दिया नगरपालिका र हेफर इन्टरनेशनलको आर्थिक सहयोग तथा थारू महिला उत्थान केन्द्रको सहजीकरणमा सञ्चालन भएको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना’ अन्तर्गत आयोजना गरिएको हो। परियोजनाले विपन्न तथा साना किसानलाई उत्पादनमूलक उद्यमतर्फ प्रेरित गर्दै आयआर्जनमा टेवा पुग्ने उद्देश्य राखेको छ।
स्थानीय किसानहरूले शिविरप्रति धन्यवाद दिंदै यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्। उनीहरूले गाउँ–गाउँमा वर्षौंदेखि देखिँदै आएका पशु रोग नियन्त्रण तथा उपचारको अभावमा यस्तो शिविर अत्यन्त उपयोगी भएको बताएका छन्।
यसरी गाउँमै पुगेको सेवा र उपचारले किसानलाई आर्थिक तथा श्रम दुवै दृष्टिले सहज बनाएको छ भने पशुपालन व्यवसायलाई थप सुदृढ बनाउन सहयोग पुर्याएको छ।











