भेरी लिफ्ट खानेपानी आयोजना तीव्रगतिमा : कानुनी प्रक्रिया पूरा भएसँगै वृक्ष कटानीदेखि संरचना निर्माणसम्म काम अघि बढ्दै

  • नमस्ते कर्णाली

  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा निर्माणाधीन भेरी लिफ्ट खानेपानी आयोजनाले हाल तीव्र गति लिएको छ। संघीयतापछि संघ सरकारले स्थानीय तहलाई दिएको ठूलो लगानीमा बन्न लागेको यस ‘ड्रिम प्रोजेक्ट’ले सबै कानुनी प्रक्रिया पूरा गरेसँगै पहिलो प्याकेज (प्याकेज–१) अन्तर्गतका कामले उल्लेखनीय प्रगति हासिल गरेका हुन्।

    खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना, वीरेन्द्रनगर आयोजना इकाइका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सञ्जीवकुमार साहका अनुसार आयोजनास्थलमा पर्ने चार सामुदायिक वनमध्ये दुई वटामा वृक्ष कटानी सकिएको छ भने बाँकी दुई वटामा पनि धमाधम रुख कटानको काम सुरु भइसकेको छ। करिब सात किलोमिटर पाइप लाइन विस्तारका लागि आवश्यक रुख कटान १५ दिनभित्र पूरा हुने लक्ष्य राखिएको छ।

    वृक्ष कटान सम्पन्न भएपछि मुहान क्षेत्रमा इन्टेक निर्माण, पानी शुद्धिकरण केन्द्र निर्माण तथा सात किलोमिटर मुख्य प्रशारण लाइन विस्तारको काम सुरु हुने इन्जिनियर साहले जानकारी दिए। उनका अनुसार अमृतडाँडामा निर्माण भइरहेका तीनवटा मुख्य रिजर्भ ट्याङ्कीको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ। अहिले सम्म ३४ किलोमिटरमध्ये २३ किलोमिटर पानी वितरण पाइपलाइनको ठेक्का लागिसकेको छ र १२ किलोमिटरको काम भइसकेको छ।

    प्याकेज–१ को निर्माण जिम्मा चिनियाँ कम्पनी ‘सिञ्ज्याङ टर्मस् इन्टरनेसनल इकोनोमी एन्ड टेक्निकल को–अपरेसन कम्पनी’ले लिएको छ। करिब तीन अर्ब ५० करोड रुपैयाँ लागतमा आगामी तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याएर खानेपानी आपूर्ति गर्ने लक्ष्य छ। यसपछि प्याकेज–२ अन्तर्गत घर–घरमा पानी वितरण प्रणाली जडान लगायतका काम सुरु गरिनेछ।

    यो आयोजना संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा कार्यान्वयन गरिरहेको छ। करिब एक सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) लागत अनुमान गरिएको यस आयोजनामा संघीय सरकारको ८० प्रतिशत र प्रदेश तथा स्थानीय तहको २० प्रतिशत योगदान रहनेछ।

    दिगो, सुरक्षित र दीर्घकालीन खानेपानी सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाले वीरेन्द्रनगर उपत्यकामा सन् २०५० सम्म वृद्धि हुनसक्ने जनसंख्यालाई लक्षित गरेको छ। इन्टेक नदी सतहभन्दा करिब सात मिटर गहिराइमा निर्माण गरिनेछ भने त्यसपछि ४०० मिटर दूरीमा प्रशोधन प्रणाली निर्माण हुनेछ। प्रशोधित पानी ४ किलोमिटर लामो पाइपमार्फत अमृतडाँडास्थित मुख्य ट्याङ्कीमा खसालिनेछ, जहाँ ३० लाख लिटर क्षमताका तीनवटा रिजर्भ ट्याङ्की बन्नेछन्।

    भेरीबाट पानी लिफ्टिङका लागि करिब दुई मेगावाट विद्युत् आवश्यक पर्ने आयोजनाले जनाएको छ। ११ महिनासम्म गरिएको सूक्ष्म अध्ययनपछि आयोजना राष्ट्रिय महत्वका रूपमा निर्माण चरणमा पुगेको हो। निर्माण सम्पन्नपछि थप तीन वर्ष व्यवस्थापन र सञ्चालनको जिम्मा पनि निर्माण कम्पनीकै रहने छ, त्यसपछि आयोजनाको स्वामित्व वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिनेछ।

    भेरी लिफ्ट खानेपानी आयोजना पूरा भएपछि वीरेन्द्रनगर नगरपालिकाका १ देखि १३ वडासम्मका हजारौं घरधुरीले दिगो, सुरक्षित र नियमित खानेपानी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

  • २० मंसिर २०८२, शुक्रबार ०७:५४ प्रकाशित

  • Nabintech