२२, मंसिर २०८२
बाँके ।बाँकेको नरैनापुर गाउँपालिकामा पछिल्ला महिनादेखि बढ्दै गएको प्रशासनिक अराजकता, अपारदर्शिता र कर्मचारीतन्त्रको मनपरी व्यवहारका कारण आक्रोशित बनेका स्थानीय नागरिक समाज, जेनजी युवाहरू र सरोकारवालाहरूले आज आइतबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन्।
ज्ञापन–पत्रमा विकास–निर्माणदेखि प्रशासनिक सेवा र सामाजिक गतिविधिसम्मका सबै क्षेत्रमा अस्वाभाविक ढिलाइ, फाइल रोक्ने प्रवृत्ति, गैर–कानुनी चलखेल, बजेट दुरुपयोग र कर्मचारीबीचको अनावश्यक विवादले जनसेवा प्रभावित भएको उल्लेख गरिएको छ। विशेष गरी गाडी भाडा, इन्धन कुपन, मर्मत खर्च, खाजा–नास्ता तथा जिन्सी सामग्री वितरणमा मनपरीको श्रृंखला चलिरहेको आरोप लगाइएको छ। स्थायी कर्मचारीलाई ओझेलमा पारेर अनावश्यक करार नियुक्ति गर्ने, आफन्त–परिचितलाई प्राथमिकता दिने र कार्यालय समयमै जनसेवाप्रति उदासीनता देखाउने जस्ता क्रियाकलापले स्थानीयवासी झनै निराश बनेको जेनजी युवाहरूको टिप्पणी छ।
नागरिक समाजका अगुवाहरूले स्थानीय सरकार नैतिक, पारदर्शी र जवाफदेही हुनुपर्नेमा प्रशासनिक नेतृत्वको उदासीनता र कमजोर नियमनले सुशासनका सिद्धान्तमै धक्का पुगेको आरोप लगाएका छन्। शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था, विषयगत शिक्षक अभाव, विद्यालय व्यवस्थापन समिति गठन नहुनु, शिक्षकहरूले सामाजिक सञ्जालमा राजनीतिकरण गर्नु तथा विद्यार्थीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्तिले अभिभावकहरू आक्रोशित बनेको उल्लेख छ। विद्यालय अनुगमन तथा मूल्याङ्कन प्रणाली कमजोर हुँदा शिक्षाको गुणस्तर जोखिममा परेको उनीहरूको धारणा छ।
ज्ञापन–पत्र बुझाउँदै नागरिक समाजका अगुवा गुफरान अली शाहले नरैनापुरमा देखिएको प्रशासनिक अस्तव्यस्तताले जनविश्वासमा ठूलो चोट पुगेको बताउँदै सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न दबाब दिन बाध्य भएको प्रतिक्रिया दिए। उनले यस आन्दोलन व्यक्तिगत विरोध नभई प्रणालीगत सुधारको माग भएको स्पष्ट गरे।
ज्ञापन–पत्रमा उल्लेख गरिएका माग तोकिएको समयमा सम्बोधन नगरिए मंसिर २४ र २५ गते गाउँपालिका कार्यालय अगाडि कालोपट्टीसहित दुई घण्टा शान्तिपूर्ण धर्ना दिने र मंसिर २६ गतेदेखि गाउँपालिका तथा वडा कार्यालयहरूलाई कब्जा गर्ने चेतावनी दिइएको छ। जेनजी युवाहरूका अनुसार यो दबाब आन्दोलन कानुनसम्मत, नागरिकमैत्री र परिवर्तनमुखी उद्देश्यका साथ अघि बढाइएको हो।
ज्ञापन–पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले युवापुस्ताको माग नागरिकमैत्री र आवश्यक रहेको प्रतिक्रिया दिए। केही मागहरू पहिल्यै सम्बोधन भइसके पनि सूचनाको पहुँचका कारण जानकारी नपुगेको हुन सक्ने बताए। आफ्नो तहबाट तात्कालिक रूपमा समाधान गर्न सकिने कुरामा तत्काल पहल गर्ने र बाँकी विषय कार्यपालिकाको बैठकबाट निर्णय गराउने प्रतिबद्धता व्यक्त गरे। उनले आन्दोलनका नाममा सेवा–प्रवाह अवरुद्ध नगर्न आग्रह पनि गरे।
ज्ञापन–पत्र बुझ्ने कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री कृष्ण केसी नमूना, गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्ष अजय मिश्रा, प्रेम मौर्यलगायतको सहभागिता थियो। जेनजी युवाहरूले ज्ञापन–पत्रका प्रतिलिपि प्रधानमन्त्री, गृहमन्त्री, सामान्य प्रशासनमन्त्री, शिक्षामन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत बोधार्थ पठाइएको जानकारी दिएका छन्।











