२२, मंसिर २०८२
बाँके। कोहलपुर नगरपालिका–१० रामनगरस्थित जीवनज्योती स्कुले शनिबार कक्षा एलकेजी र १ का विद्यार्थीका अभिभावकको सहभागितामा अभिभावक दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमले शिक्षण–सिकाइमा घर र विद्यालयबीचको सहकार्य, व्यवहारिक शिक्षा र अभिभावक–शिक्षकको भूमिकालाई केन्द्रमा राखेर सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका विशिष्ट अतिथि सिलास बोगटीले बालबालिकाको सिकाइ प्रक्रिया कक्षाभित्र मात्रै सीमित नभई घरमै निरन्तरता पाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “नानी–बाबुको मनस्थिति बुझ्दै प्रेमपूर्वक सम्झाई–बुझाई अघि बढाउनु अभिभावकको पहिलो दायित्व हो।”
बोगटीले घर–स्कुलको सहकार्यलाई सफल शिक्षण प्रक्रियाको मेरुदण्डका रूपमा व्याख्या गर्दै बच्चाले व्यवहार, अनुशासन र सामाजिक सीप सिक्ने सबभन्दा ठूलो कक्षा परिवारकै वातावरण हुने स्पष्ट पार्नुभयो।

यस्तै, विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले जीवनज्योती स्कुले छोटो अवधिमै हासिल गर्न सफल भएको प्रगतिमा अभिभावक, शिक्षक तथा विद्यार्थीको सामूहिक भूमिकालाई प्रमुख कारण बताउनुभयो।
उहाँले अभिभावकलाई शिक्षा केवल स्कुललाई मात्र नछोड्न आग्रह गर्दै भन्नुभयो, “बालबालिका काँचो माटो हुन्, आकार दिने दायित्व अभिभावक र शिक्षकले बराबरी बाँड्नुपर्छ। घरमै अनुशासन, संस्कार र व्यवहार सिकाउने वातावरण बनाइदिनु नै व्यवहारिक शिक्षाको आधार हो।”
फादर जेम्सले विद्यालयले आगामी दिनमा अझ व्यवहारिक, जीवन–उपयोगी तथा गुणस्तरीय शिक्षा विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमुनाले अभिभावक दिवस जस्ता गतिविधिबाट विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ हुने बताए।
उहाँले भन्नुभयो, “बालबालिकाको पहिलो शिक्षा घरबाटै सुरु हुन्छ। त्यसैले व्यवहारिक शिक्षा, आत्मनिर्भरता र स्वस्थ जीवनशैली घरमै सिकाउनुपर्छ, तब मात्र कक्षाकोठाको शिक्षा प्रभावकारी बन्छ।”

उहाँले जीवनज्योती स्कुललाई ‘बालबालिकाको सपना पूरा गरिदिने विद्यालय’ भन्दै शिक्षा क्षेत्रलाई शैक्षिक हबका रूपमा विकास गर्न आफू निरन्तर साथ रहने प्रतिवद्धता जनाउनुभयो।
सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाले फादर जोमन जेम्सको नेतृत्व, दूरदृष्टि र व्यवस्थापन क्षमताले विद्यालयले छोटो समयमा समुदायको विश्वास जित्न सफल भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष फुलाराम थारु, व्यवस्थापन समितिका सदस्य चण्डी प्रसाद गैरेसहित अभिभावक र विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति थियो।
अभिभावक दिवसको अवसरमा विद्यालयले अभिभावकलाई शैक्षिक गुणस्तर, घर–स्कुल सहकार्य, बालअधिकार, स्वास्थ्य तथा व्यवहारिक शिक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेको थियो। साथै विभिन्न समुदायको संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतीले कार्यक्रम थप जीवन्त बनेको विद्यालयले जनाएको छ।












