सुर्खेत, २७ मंसिर ।
२३–२४ भदौको जेन–जी आन्दोलनपछि गठित पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद्मा चार मन्त्री थपिएका छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले मन्त्रीका लागि चार जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन । नयाँ बनेका मन्त्रीहरुमा माधव चौलागाईं, श्रद्धा श्रेष्ठ, कुमार इङ्नाम र राजेन्द्रसिंह भण्डारी छन् ।
चौलागार्इंलाई वन तथा वातावरण मन्त्रालय, श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत पद तथा गोपनियताको सपथ खाएर पदभार ग्रहणसमेत गरिसकेका छन् । पछिल्लो मन्त्रीपरिषद् विस्तारसँगै कार्की नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ ।
नवनियूक्त वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका अध्येता तथा जनस्वास्थ्यविद् चौलागाईं कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छन । यसअघि कर्णालीको प्रतिनिधित्व गर्दै हुम्लाकी टासी ल्हाजोम र दैलेखका खगेन्द्र सुनारलाई मन्त्री बनाउने प्रयास भएको थियो । तर, उनीहरु विवादमा तानिएपछि सपथ रोकिएको थियो ।
चौलागार्इं तिनै व्यक्ति हुन्, जसले पञ्चायती व्यवस्थामा हरिचन्द्र महतपछि राष्ट्रिय राजनीतिमा जुम्लाको नाम उचालेका छन् । चौलागाईंका आलेखहरुबाटै तत्कालिन कर्णाली क्षेत्र शक्ति केन्द्र थियो । नेपाली भाषाको उद्गम थलो जुम्लाको खस साम्राज्य विघटनपछि पनि यो क्षेत्र शक्ति केन्द्रको रुपमा स्थापित थियो ।
१८४६ देखि नेपालमा प्रजातन्त्र आउनुपूर्व तत्कालिन गोर्खा राज्यबाट कर्णाली निरन्तर थिचिएको थियो । सोही समयमा जुम्लाबाट महत पञ्चायती व्यवस्थामा मन्त्री बनेका थिए । त्यसयता झण्डै ४१ वर्षसम्म पनि जुम्लाले यस्तो अवसर पाएको थिएन ।
कर्णाली क्षेत्रको सामाजिक–सांस्कृतिक तथा ऐतिहासिक पक्षको अनुसन्धान र प्रकाशनमा लागिरहेका लेखक तथा सामाजिक अभियन्ता चौलागाईं यहाँको संस्कृति, भाषा, जीवनशैली र ग्रामीण विकासका विविध आयामलाई निरन्तर रुपमा लेख तथा अनुसन्धानमार्फत् उजागर गर्दै आएका छन् ।
करिब दुई दशकदेखि सामाजिक विकास, ग्रामीण स्वास्थ्य र समुदाय केन्द्रित कार्यक्रमसँग जोडिएका चौलागाईंले कर्णालीका दुर्गम क्षेत्रको अध्ययन, यात्रा तथा तथ्य–संग्रहमार्फत् क्षेत्रको सम्भावना र चुनौतीबारे दर्जनौँ विश्लेषणात्मक सामग्री प्रकाशित गरेका छन् । उनका लेख तथा अभिव्यक्तिहरूले कर्णालीको सांस्कृतिक पहिचान, पर्यटन सम्भावना तथा सामाजिक परिवर्तनका विषयमा सार्वजनिक बहसलाई सशक्त बनाएको मानिन्छ ।
उनीसँग जनस्वास्थ्य क्षेत्रमा विभिन्न सरकारी तथा अन्तराष्ट्रिय विकास साझेदारसँग मिलेर काम गरेको अनुभव छ । अध्ययन अनुसन्धानमा सक्रिय चौलागाईं कर्णाली क्षेत्रका मुद्दालाई केन्द्रसँग जोड्ने र बहस गर्ने अभियानमा सक्रिय छन् । उनी समसामयिक विषय र व्यक्तित्वमाथि मन्थन गर्ने थलो ‘कर्णाली उत्सव, कुडा कर्णाली’मा सुरुदेखि नै आवद्ध छन् । चौलागाईं हरित र साइकल अभियान्तासमेत हुन् । जुम्लाको तातोपानी गाउँपालिका–५, लाम्राका स्थायी बासिन्दा उनले कर्णाली क्षेत्रलाई समस्याको खाडलसँगै समाधानका थुप्रै उपाय पनि आफ्ना लेखमार्फत दिएका छन् ।
उनले कर्णाली क्षेत्रका बारेमा लेखेको पुस्तक ‘सपादलक्ष्य कर्णाली’ प्रकाशित छ भने, केही समयअघि माइतिघर मण्डलामा आयोजित सिस्नोपानी कार्यक्रमबाट चर्चित बनेको ‘मान्ठ हुँ म मान्ठ, मान्ठ जुर्मुराउँछु’ गीतका सर्जकसमेत चौलागार्इं हुन् ।
उनले कक्षा १२ सम्मको अध्ययन जुम्लाबाटै पुरा गरेका थिए । स्नातक तहसम्मको पढाई सुर्खेतबाट पुरा गरेपछि उनी छात्रवृत्तिमा स्नाकोत्तर अध्ययन गर्न थाइल्याण्ड पुगेका थिए । थाइल्याण्डबाट जनस्वास्थ्यमा स्नाकोत्तर गरेका चौलागाई कर्णालीमै फर्किएर लामो समय सेवामा खटिएका थिए । उनले मानवशास्त्रमा एमफिल गरेका छन् ।
कर्णाली हरेक सुचाङ्कमा पछि पर्नुका पछाडि ऐतिहाँसिक, भौगोलिकदेखि महामारी, द्वन्द्व, भूकम्प लगायतका कारणसँगै सरकारको हेपाहा प्रवृत्ति नै प्रमुख रहेको उनका विचार र अभिव्यक्तिले देखाउँछन् । जेन–जी आन्दोलनपछिको विषमपरिस्थितीमा मन्त्री बनेका चौलागाईं सामु उनले देखेको र भोगेको कर्णालीलाई माथि उठाउन कसरी काम गर्छन भन्ने विषयमा आमचासो बढेको छ ।











