‘कुलमानले जुन थालमा खाए त्यहीँ थालमा छेद हाले’

  • नमस्ते कर्णाली

  • २८, मंसिर २०८२

    सुर्खेत ।नेपाली कम्यूनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका कुलमान घिसिङले जुन थालमा खाए त्यहीँ थालमा छेद हालेको छिप्णी गरेका छन् । शनिबार नेकपाले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङमुक्त नेपाल बनाउने ऐतिहासिक कार्य त हामीले पुरा गरकै हो । यसलाई कसैले नराम्रो भन्न त सक्दैन ! भलै अहिले कुलमानले गुन बिर्सेर जुन थालमा खाए त्यहीँ थालमा छेद हाल्न खोजेका छन् । तिनले त्यसो नगरुन भन्न चाहन्छु । कुलमानको बुद्धि फिरोस ! यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् ।’ कुलमानले आफुलाई छाडेर नयाँ पार्टी खोलेका प्रति लक्षित गर्दै प्रचण्डले कुलमानलाई नेपाली जनताले माफ नदिने दावी गरे । कुलमानलाई आफुले दुई पटक प्रधानमन्त्री हुँदा टिपेर ल्याएको तर्क प्रचण्डले गरे ।

    सम्वोधनका क्रममा प्रचण्डले सुदुर र कर्णालीबाट सुरु भएको एकता अभियानले नेकपालाई एक नम्बर पार्टी बनाउने दावीसमेत गरे । दुई प्रदेशमा भएका एकतासभाले देशमा समाजवादी क्रान्तिको सन्देश दिएको उनले बताए ।

    ‘नेकपाले जारी राखेका एकतासभाहरु प्रचारात्मक नभई विगतका कमीकमजोरीका विषयमा आत्मसमिक्षा र आत्मआलोचना गरेर आगामी दिनमा नेपाली जनतासँग एकाकार भएर सुशासन युक्त, भ्रष्टाचारमुक्त र आर्थिकरुपले समृद्ध, सामाजिक विभेदको अत्य गरी सामाजिक न्यायसहितको समाज निर्माण गर्ने लक्ष्य हाम्रो हो,’ प्रचण्डले भने । विगतका कमजोरीहरु अब नदोरिने उनले दाबी गरे । उनले नेपालमा कम्युनिष्ट घटकहरु एकत्रित हुन विगतदेखिकै प्रयास भएको बताए । उनले जेन–जी आन्दोलनलाई सही थियो भन्ने पार्टी नै नेकपा भएको उल्लेख गर्दै पछिल्लो सरकार र जेन–जीबीच भएको सम्झौता आफुहरुकै नीति तथा कार्यक्रमसँग सम्बन्धित भएको दाबी गरे । यस्तै, सभालाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधवकुमार नेपालले इमान्दारहरुको पार्टी नै नेकपा भएको दावी गरे । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उनको दावी थियो । ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन र साझा भावनामा अगाडि बढ्न सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन । त्यसैले हामीले विगतका कमजोरी स्वीकार्दै इमानदार भएर काम गर्ने सोचका साथ पार्र्टी एकता गरेका हौँ ।’ उनले प्रचण्ड र आफु मिलेर देशमा धेरै राम्रा काम गरेको दावीसमेत गरे ।

  • २९ मंसिर २०८२, आईतवार ०८:०४ प्रकाशित

  • Nabintech