२९, मंसिर २०८२
सुर्खेत ।२३–२४ भदौको जेन–जी आन्दोलनपछि गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी छ । आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सरकार, निर्वाचन आयोग तथा राजनीतिक दलहरू आ–आफ्नो तयारी तीव्र पारिरहेका छन् ।
२३ भदौमा जेन–जी समूहको प्रदर्शनका क्रममा सरकारले अत्यधिक बल प्रयोग गर्दा १९ जना युवाले ज्यान गुमाएका थिए । त्यसको विरोधमा भोलिपल्ट २४ भदौमा चर्किएको सडक संघर्षले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार अपदस्त भयो । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध, भ्रष्टाचार अन्त्य र सुशासनको मागसहित सुरु भएको जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीले राजीनामा दिए र सोही आन्दोलनको मागबमोजिम सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भइन् ।
कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले २० असोजमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको थियो । सरकारको निर्णयअनुसार निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेको छ । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर सरोकारवालाबाट सुझाव सङ्कलन गरिरहेको छ भने सरकारले निर्वाचन सुरक्षाका लागि सेना परिचालनको स्वीकृतिसमेत लिइसकेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक तयारी भइसकेको बताउँदै आएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको गतिविधि पनि देशव्यापी रूपमा बढेको छ । तोकिएकै समयमा निर्वाचन नहुने आशंकाबीच दलहरूले राजनीतिक सभा, सम्मेलन र प्रशिक्षणलाई तीव्रता दिएका छन् । जेन–जी आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको नेकपा एमालेले निर्वाचनकै तयारीका लागि शनिबारबाट आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनलाई निरन्तरता दिएको छ । महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधमुक्त वातावरणमा चुनाव भए बहुमत ल्याउने सामर्थ्य एमालेसँग रहेको दाबी गर्दै पार्टी चुनावबाट नभाग्ने स्पष्ट पारे । उनले सरकारलाई निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन आग्रहसमेत गरे ।
यस्तै, नेपाली कांग्रेसले पनि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइसकेको छ । कांग्रेसले प्रतिनिधिसभासँगै राष्ट्रियसभाका उम्मेदवारसमेत छनोट गरिरहेको जनाएको छ । जेन–जी आन्दोलनपछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ‘सन्देशसभा’ का नाममा देशभर निर्वाचन केन्द्रित गतिविधि तीव्र पारेको छ । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सभा गरिसकेको नेकपाले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा आयोजना गर्यो । पार्टीले आगामी ५ पुसमा काठमाडौंमा सन्देशसभा गर्ने तयारी गरेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताउँदै त्यसका लागि पार्टी सक्रिय भइसकेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि निर्वाचनका लागि घोषणापत्र तयारीदेखि उम्मेदवार छनोटसम्मका काम अघि बढाएको छ । समानुपातिकतर्फ आवेदन संकलन गरिसकेको रास्वपाले भेला र प्रशिक्षणमार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ । मधेस केन्द्रित दलहरू समेत चुनावी तयारीमा सक्रिय हुँदै गएका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ११४ राजनीतिक दल सहभागी हुनेछन् भने समानुपातिकतर्फ १०० दलले भाग लिनेछन् । निर्वाचन आयोगले जनसंख्याका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समुदायका लागि समानुपातिक कोटा निर्धारणको प्रक्रिया अघि बढाएको छ । आयोगका अनुसार समानुपातिकतर्फ आवेदन दिएका दलमध्ये अन्तिम रूपमा १०० दल कायम भएका छन् । यद्यपि केही दलले साझा निर्वाचन चिह्नमा भाग लिने भएकाले कुल ९३ वटा निर्वाचन चिह्न मात्र कायम गरिएको छ ।
यसरी, जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिवर्तनको पृष्ठभूमिमा देश अब प्रतिनिधिसभा निर्वाचनतर्फ केन्द्रित बन्दै गएको छ ।











