कर्णालीमा कांग्रेसको उम्मेदवार सिफारिस प्रक्रिया विवादित: कालीकोटमा दुई सूची, रुकुमपश्चिममा असन्तुष्टि चुलिँदै

  • नमस्ते कर्णाली

  • २, पुस २०८२

    सुर्खेत । आगामी प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लामा नेपाली कांग्रेसभित्र विवाद र असन्तुष्टि देखिएको छ । विशेषगरी कालीकोटमा दुई फरक–फरक सूची सिफारिस हुनु र रुकुमपश्चिममा आकांक्षी नेताहरू असन्तुष्ट देखिनुले उम्मेदवार छनोट प्रक्रिया थप पेचिलो बनेको छ ।

    नेपाली कांग्रेस जुम्लाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ कर्णबहादुर शाही, निवर्तमान सांसद कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य र खड्गबहादुर सेजुवालको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटासहित १४ जनाको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभातर्फ कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्व राज्यमन्त्री भक्तबहादुर रोकायासहित चार जनाको नाम सिफारिस भएको छ ।

    कांग्रेस कालीकोटमा भने उम्मेदवार चयन प्रक्रियामै विवाद देखिएको छ । जिल्लाका दुई समूहले भिन्न–भिन्न नामावली सिफारिस गरेका छन् । एक पक्षबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशरजंग बम र जीवन सुवेदीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार र भरत विक तथा राष्ट्रियसभातर्फ विष्णुबहादुर शाही र दानबहादुर बम सिफारिस भएका छन् ।

    यता कालीकोट कांग्रेसका जिल्ला सभापति अम्मरबहादुर शाहीले छुट्टै नामावली सिफारिस गरेका छन् । उनका अनुसार प्रतिनिधिसभा खुलातर्फ भूपेन्द्रजंग शाही र अम्मरबहादुर शाही तथा महिलातर्फ सीता रावल सिफारिस छन् । समानुपातिकतर्फ खस आर्यबाट कालीबहादुर सहकारी, महिलातर्फ सुशीला शाही बम र दलिततर्फ मानबहादुर नेपाली सिफारिस गरिएको छ । राष्ट्रियसभातर्फ टेकराज शाही र महिलातर्फ यशोधा शाहीको नाम अघि सारिएको छ ।

    मुगु जिल्लाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ ऐनबहादुर शाही, खड्कबहादुर शाही र रमाइली रावत सिफारिस भएका छन् । राष्ट्रियसभातर्फ हस्तबहादुर मल्ल र समानुपातिक दलिततर्फ भीम तिरुवा, मीन भाम र केशरकला मल्लको नाम सिफारिस गरिएको छ ।

    हुम्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ जीवनबहादुर शाही, जयपति रोकाया र रीता शाही सिफारिस भएका छन् । समानुपातिकतर्फ बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाही तथा राष्ट्रियसभा (खुला) तर्फ पदमबहादुर लामा एकल रूपमा सिफारिस भएका छन् । राष्ट्रियसभा (महिला) तर्फ रंगमती शाही र सबिता बुढाको नाम सिफारिस गरिएको छ ।

    डोल्पाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ कर्ण बुढा सिफारिस भएका छन् । समानुपातिकतर्फ टंकप्रसाद उपाध्याय, जयकुमारी शाही र रमादेवी न्यौपाने तथा राष्ट्रियसभातर्फ दूधकुमारी हमाल, राजीमान सार्की र जुना मिजार सिफारिस भएका छन् ।

    सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का एकल रूपमा सिफारिस भएका छन् । समानुपातिकतर्फ भिमा मल्ल र नवीन विकको नाम सिफारिस भएको छ । सुर्खेत क्षेत्र नं. २ बाट भने हृदयराम थानीसहित उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भीष्मराज हमाल र वसन्ती बस्नेतको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भेग कामी, गंगा नेपाली, पार्वती गिरी, धना विष्ट र भीम शाही नेपालीको नाम अघि सारिएको छ ।

    दैलेख निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सभापति मणिराम रेग्मीसहित १३ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ बाट सीताकुमारी राना, दिक्पालकुमार शाही, मधुरविक्रम खनाल र रञ्जना शाही सिफारिस भएका छन् । समानुपातिकतर्फ जानकी विष्ट, पूर्णबहादुर थापा, भगवतीप्रसाद रेग्मी, लीलाराम उपाध्याय, शेरबहादुर शाही र सूर्यबहादुर विकको नाम सिफारिस गरिएको छ ।

    सल्यानबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ ६ जनासहित कुल १६ जनाको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभातर्फ ध्रुवराज पुरीको एकल नाम सिफारिस भएको छ । जाजरकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरिएको छ भने रुकुमपश्चिममा प्रतिनिधिसभा र राष्ट्रियसभा उम्मेदवार सिफारिसलाई लिएर असन्तुष्टि बढ्दै गएको छ । रुकुमपश्चिम कांग्रेसले प्रत्यक्षतर्फ प्रेमप्रकाश ओली र गोपालजंग शाह सिफारिस गरे पनि आकांक्षी राजु केसी, शिव आचार्यलगायतले असन्तुष्टि जनाएका छन् ।

    कर्णालीका विभिन्न जिल्लामा देखिएको विवाद र असन्तुष्टिले उम्मेदवार छनोट प्रक्रिया सहज नहुने संकेत देखिएको छ । पार्टी नेतृत्वले यी विवाद समाधान गर्दै सर्वसम्मत उम्मेदवार टुंगो लगाउनुपर्ने चुनौती बढ्दै गएको छ ।

  • २ पुष २०८२, बुधबार ०८:०६ प्रकाशित

  • Nabintech