३, पुस २०८२
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशको आयोजनामा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर–२) परियोजनाअन्तर्गत कर्णाली प्रदेश स्तरीय लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) केन्द्रित टेबलटप कृतिम घटना अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोगमा, युएनडिपि, युनिसेफ, युएन वुमन तथा ह्याण्डिक्याप इन्टरनेशनलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। यसका साथै सुन्दर नेपाल संस्था सुर्खेत र रोयम नेपालको स्थानीय सहजीकरण रहेको थियो।
टेबलटप कृतिम घटना अभ्यासका क्रममा विभिन्न विषयगत क्षेत्रका लिड तथा को–लिडहरूले स्थानीय, जिल्ला तथा प्रदेश तहमा आकस्मिक रूपमा आउन सक्ने विपद्—विशेषगरी भूकम्प—को अवस्थामा देखिन सक्ने सम्भावित समस्याहरू र ती समस्याको समाधानका लागि अपनाउनुपर्ने सामूहिक प्रतिकार्यका उपायबारे गहन छलफल गरेका थिए। छलफलका क्रममा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, विकास साझेदार संस्था तथा स्थानीय संघ–संस्थाहरूसँग उपलब्ध खोज तथा उद्धार सामग्री, आर्थिक, भौतिक र मानवीय स्रोतसाधनको अवस्थाको विश्लेषण गरिएको थियो।
उक्त अभ्यासले सम्भावित क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा साझा बुझाइ विकास गर्न महत्वपूर्ण योगदान दिएको सहभागीहरूले बताएका छन्। विभिन्न चरणमा गरिएको छलफलले विपद् व्यवस्थापनमा अन्तरसमन्वय, स्रोतको प्रभावकारी परिचालन र समावेशी दृष्टिकोणको आवश्यकता औंल्याएको छ।
प्रशिक्षक सिर्जन मल्लले विपद् कसैले पनि पूर्वानुमान गर्न नसकिने विषय भएकाले यसको न्यूनीकरण र व्यवस्थापनमा प्रक्रियागत सुधार अपरिहार्य रहेको बताए। उनले आकस्मिक रूपमा आउने विपद् न्यूनिकरण तथा व्यवस्थापनका लागि चरणबद्ध पूर्वतयारी र प्रतिकार्य आवश्यक हुने उल्लेख गर्दै सबै सरोकारवाला पक्ष एकजुट भई कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए। विपद् चक्रलाई नीतिगत रूपमा आत्मसात गर्दै उत्थानशील कर्णाली निर्माणमा यस किसिमका अभ्यास कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका क्रममा टेबलटप कृतिम घटना अभ्यासमा देखिएका कमजोरी तथा ग्यापहरू पहिचान गर्दै, वास्तविक विपद् आएको अवस्थामा तिनलाई कसरी समाधान गर्ने भन्ने विषयमा आवश्यक छलफल र सल्लाहसुझावसहित कार्ययोजना समेत तयार गरिएको छ। सहभागीहरूले यस्ता अभ्यास कार्यक्रम समय–समयमा आयोजना गर्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत शान्ति तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत कमला गिरीले गर्नुभएको थियो।











