करोडौँ लगानी, तर धारा सुक्खा: सानीभेरीका लिफ्ट खानेपानी आयोजना आठ वर्षदेखि अलपत्र

  • नमस्ते कर्णाली

  • ३, पुस २०८२

    रुकुमपश्चिम ।रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा सुरु गरिएका लिफ्ट खानेपानी तथा सिँचाइ आयोजनाहरू वर्षौंदेखि अधुरा रहँदा सर्वसाधारण नागरिकले अझै पनि खानेपानीको पीडा भोग्नुपरेको छ। आठ वर्षअघि सुरु भएका योजनाले एक घर–एक धारा पुर्‍याउने आशा देखाए पनि बजेट अभाव, कमजोर समन्वय र हचुवा योजना छनोटका कारण ती सपना कागजमै सीमित भएका छन्।

    सानीभेरी गाउँपालिका–१० मा आठ वर्षअघि सुरु गरिएको किचकिचे–चिन्तु लिफ्ट खानेपानी आयोजना त्यस्तै उदाहरण हो। आयोजना सुरु हुँदा चिन्तु, डाँगीचौर, जुम्लेपोखरी, हल्टाकुरी र बुगेरी टोलका ११० घरधुरीमा घरमै खानेपानी पुग्ने विश्वास स्थानीयमा थियो। स्थानीय गोपाल खड्काले त्यो समयको आशा अझै सम्झिन्छन्। “अब खानेपानीको चिन्ता सकियो भन्ने लागेको थियो, तर आयोजना आजसम्म अधुरै छ,” उनले दुःखेसो पोखे। अन्य ठाउँमा धारा पुगेको देख्दा आफ्नै गाउँमा कहिले पानी आउला भन्ने प्रश्नले सताइरहने उनको भनाइ छ।

    उपभोक्ता समितिका अध्यक्ष धनवीर ओलीका अनुसार आयोजनाको करिब ८० प्रतिशत काम सकिएको छ। तर अन्तिम चरणका लागि आवश्यक करिब ३० लाख रुपैयाँको बजेट व्यवस्थापन नहुँदा घरघरमा पानी पुर्‍याउने काम रोकिएको छ। यस्तै अवस्था सानीभेरी गाउँपालिका–३ मा आठ वर्षअघि सुरु भएको तुसारे–अध्याचौर लिफ्ट खानेपानी आयोजनाको पनि छ। तीनै तहका सरकारको गरी करिब ३ करोड रुपैयाँ लगानी भइसके पनि आयोजना अझै पूरा हुन सकेको छैन।

    वडा अध्यक्ष जगदीश नकालका अनुसार करिब चार सय घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको तुसारे–अध्याचौर आयोजना बजेट अभावकै कारण अलपत्र परेको हो। “पछिल्लो समय संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको प्राथमिकतामा यो योजना परेन, बजेट आउनै छोड्यो,” उनले भने। उनका अनुसार सानीभेरी गाउँपालिकाले मात्र २० लाख रुपैयाँ खर्च गरेको छ भने बाँकी रकम संघ र प्रदेशको क्रमागत बजेटबाट आएको हो।

    वडा नम्बर ४ मा तीन वर्षअघि सुरु भएको पधेरीखोला–गाउँबारी लिफ्ट खानेपानी आयोजना पनि उस्तै अवस्थामा छ। वडा अध्यक्ष मनोज बुढाथोकीका अनुसार कर्णाली प्रदेश सरकारबाट तीन पटक गरी ३८ लाख रुपैयाँ खर्च भइसकेको छ। तर अन्तिम चरणमा मोटर जडान र धारा निर्माणका लागि बजेट अपुग हुँदा आयोजना रोकिएको हो। “योजना छनोट र बजेट विनियोजन गर्दा वडा कार्यालयलाई जानकारी नै नदिइ हचुवाको भरमा काम भयो,” उनले बताए।

    किचकिचे, तुसारे र पधेरीखोला मात्रै होइन, वडा नम्बर ४ को गोल्चौर लिफ्ट सिँचाइ आयोजना र वडा नम्बर ५ को मेलचौर लिफ्ट खानेपानी आयोजना पनि अधुरा छन्। गोल्चौरमा प्रदेश सरकारको ८० लाख र मेलचौरमा ४० लाख रुपैयाँ लगानी भइसके पनि बजेट अपूरो भन्दै काम रोकिएको छ। एकातिर करोडौँ रकम खर्च हुँदा पनि प्रतिफल नआउने अवस्था छ भने अर्कोतर्फ सर्वसाधारण आधारभूत आवश्यकतासमेत सहजै उपभोग गर्नबाट वञ्चित छन्।

    सानीभेरी गाउँपालिकाका खानेपानी तथा सरसफाइ टेक्निसियन पवनकुमार केसीका अनुसार गाउँपालिकाका विभिन्न वडामा रहेका यी पाँच वटा पुराना तर अधुरा आयोजनामा मात्रै करिब पाँच करोड रुपैयाँ खर्च भइसकेको छ। “तीनै तहका सरकारको करोडौँ खर्च हुँदा पनि नागरिकले सहज खानेपानी सुविधा पाउन सकेका छैनन्,” उनले भने। संघ, प्रदेश र स्थानीय सरकारबीच योजना छनोट र बजेट विनियोजनमा तालमेल नहुँदा समस्या झन गहिरिएको उनको भनाइ छ।

    गाउँपालिकाकी उपाध्यक्ष कमला रोका पुनले योजनाको प्राथमिकिकरण नगरी हचुवाका भरमा बजेट विनियोजन गर्दा यस्तो अवस्था आएको स्वीकारिन्। “पर्याप्त बजेट नछुट्याउँदा हरेक वर्ष थोरै–थोरै काम मात्रै हुन्छ, योजनाले दशक काट्ने जोखिम छ,” उनले भनिन्। उनका अनुसार करोडौँ लागत लाग्ने योजनामा वार्षिक १५–२० लाख मात्र छुट्याउँदा न प्रभावकारिता देखिन्छ, न नागरिकले सेवा पाउँछन्।

    सानीभेरी गाउँपालिकाका अधिकांश बस्ती अग्ला लेक र टाकुरामा रहेका छन्। लिफ्ट प्रणालीबिना त्यहाँ खानेपानी पुर्‍याउन कठिन भएकाले योजना सुरु गरिए पनि सम्पन्न नहुँदा समस्या झन् जटिल बनेको छ। वडा नम्बर १० का नरबहादुर खड्काले दुई घण्टा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता अझै नहटेको बताए। “मानिस र गाईबस्तुका लागि पानी जोहो गर्नै दिन बित्छ,” उनले भने।

    खानेपानीजस्तो अत्यावश्यक आधारभूत सेवा वर्षौंदेखि अधुरो रहँदा सानीभेरीका नागरिकमा निराशा बढ्दै गएको छ। अब तीनै तहका सरकारले एकीकृत योजना बनाएर पर्याप्त बजेट सुनिश्चित नगरेसम्म, करोडौँको लगानी पनि सुक्खा धारा जस्तै निष्प्रभावी हुने स्थानीयको चिन्ता छ।

  • ३ पुष २०८२, बिहीबार १२:५६ प्रकाशित

  • Nabintech