भ्रष्टाचारी ठहर भए कर्णालीका पूर्वमन्त्री नन्दसिंह बुढा

  • नमस्ते कर्णाली

  • १०, पुस २०८२

    सुर्खेत ।कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री नन्दसिंह बुढा भ्रष्टचारी ठहर भएका छन् । १५ वर्षअघि झोलामा नक्कली विद्यालय खडा गरी भुक्तानी लिएको अभियोगमा बुढा भ्रष्टचारी ठहर भएका हुन् । उक्त प्रकरणमा बुढासँगै अन्य तीन जना पनि भ्रष्टचारी ठहर भएका छन् ।

    आर्थिक वर्ष २०६७/०६८ मा डोल्पाको तत्कालिन दुनै गाविस २ र ३ स्थित तिप्लामा अस्तित्वमै नरहेको दुर्गा प्राथमिक विद्यालयको दुई कोठे भवन निर्माण सम्पन्न भएको झुटा कागजात बनाई चेकमार्फत सात लाख ६० हजार रुपैयाँ भुक्तानी लिएको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ असार २०८२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    उक्त मुद्दामा सनुवाई गर्दै विशेष अदालतले नक्कली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढासहित तत्कालिन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख रविचन्द्र पञ्जियार, लेखापाल मनिराम कुर्मी र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढा दोषी ठहर भएका हुन् ।

    विशेष अदालतका न्यायधीसहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ, र विदुर कोइरालाको संयूक्त इजलासले उनीहरुलाई जनही एक लाख ९० हजार रुपैयाँ र एक वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ ।

    भ्रष्टचारी ठहर भएका बुढा २०७४ मा नेकपा एमालेबाट कर्णाली प्रदेशसभामा निर्वाचित भएका थिए । उनी २०७५ मा तत्कालिन नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको क्याविनेटमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए । २०७८ मा एमालेको रुलिङविपरित अल्पमतमा परेका मुख्यमन्त्री शाहीलाई समर्थन गर्दै फ्लोरक्रस गरेर पुनः मन्त्री बनेका बुढा २०७९ मा एमालेमै फर्किएका थिए ।

  • १० पुष २०८२, बिहीबार ०८:५५ प्रकाशित

  • Nabintech