१२, पुस २०८२
सुर्खेत ।संघीय सरकारले आर्थिक वर्ष २०६४/०६५ मा आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी मध्यपहाडी राजमार्गको अवधारणा अघि सारेको थियो । तत्कालीन समयमा मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइको मुख्य कारण सडक अभाव रहेको निष्कर्षसहित यो राजमार्गको परिकल्पना गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको मध्यपहाडी सडक आयोजनाका अनुसार बसाइँसराइ रोक्दै मध्यपहाडका करिब ५० लाख नागरिकलाई प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यले यो सडक योजना अघि बढाइएको हो ।
आर्थिक वर्ष २०६९/०७० देखि सरकारले मध्यपहाडी राजमार्गलाई ‘राष्ट्रिय गौरवको आयोजना’मा समावेश गरी निर्माणलाई तीव्रता दियो । तर, निर्माण सुरु भएको झण्डै १३ वर्ष बितिसक्दा पनि जाजरकोट खण्ड अन्तर्गत पर्ने मन्ता भिरले राजमार्गको पूर्णता रोकेको छ ।
कर्णाली प्रदेशका तीन जिल्ला भएर पूर्व–पश्चिम जोडिने मध्यपहाडी राजमार्ग जाजरकोटको छेडागाड नगरपालिकामा पर्ने करिब सात सय मिटर लामो मन्ता भिरको कडा चट्टानका कारण अवरुद्ध छ । अन्य खण्डमा सडक कालोपत्रे अन्तिम चरणमा पुगे पनि यही भिरका कारण सवारी साधनले लामो वैकल्पिक रुट प्रयोग गर्नुपर्ने बाध्यता छ । जाजरकोटमा कुल ८५ किलोमिटर सडक मध्ये मन्ता भिरसहित ३५ किलोमिटर बाहेक अन्य खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ भने रुकुम पश्चिममा १३ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ ।
हाल दैलेखबाट मध्यपहाडी राजमार्ग हुँदै जाजरकोटको बडावनसम्म नियमित सवारी सञ्चालनमा रहे पनि मन्ता भिरमा सडक नखुलेका कारण छिन्चु–जाजरकोट सडक प्रयोग गरेर खलंगा हुँदै रुकुम पश्चिम पुग्नुपर्ने बाध्यता रहेको छ । छेडागाड नगरपालिका–३ का स्थानीय रज्नबहादुर बुढाका अनुसार यही कारण जिल्ला सदरमुकाम पुग्न समेत लामो र झन्झटिलो यात्रा गर्नुपरेको छ । राज्यको कमजोरीका कारण सर्वसाधारणले अनावश्यक दुःख पाउनुपरेको उहाँको गुनासो छ ।
मध्यपहाडी राजमार्गको अछाम–रुकुम खण्ड निर्माण सुरु हुँदा नै मन्ता भिरमा ट्र्याक खोल्ने ठेक्का लागे पनि १३ वर्ष बित्दा समेत ट्र्याक पूर्ण रूपमा खुल्न सकेको छैन । यस्तै, जाजरकोटको कुदु र रुकुम पश्चिमको चौरजहारी जोड्ने भेरी नदीमाथिको पुल नबन्दा पनि राजमार्ग सञ्चालनमा थप समस्या देखिएको छ । २०६९ मा ठेक्का सम्झौता भएको भेरी नदीको पुल हालसम्म अलपत्र अवस्थामा छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख निरञ्जन थापाले मन्ता भिर र भेरी नदीको पुल नबनेका कारण दैलेख–जाजरकोट–रुकुम पश्चिम खण्डमा अन्य सडक प्रयोग गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार कार्यालयले हेर्ने अछामको चौखुट्टेबाट रुकुम पूर्वको पातीहाल्नसम्मको ४४० किलोमिटर खण्डमा ९० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ ।
मन्ता भिरमा कडा चट्टानका कारण समस्या आएको बताउँदै थापाले नयाँ सर्वे गरी सडक विभागमा पठाइसकेको जानकारी दिनुभयो । स्वीकृति पाएपछि चट्टान काट्ने काम सुरु हुने र लागत बढाएर भए पनि निर्माण अघि बढाइने उहाँको भनाइ छ । जाजरकोटको थलह–कुदु खण्डको मन्ता भिरमा सिंह एन्ड बदर्स निर्माण सेवाले ठेक्का लिएको भए पनि प्रारम्भिक लागतभित्र चट्टान काट्न नसकिने भन्दै नयाँ सर्वेको आवश्यकता देखिएको हो ।
उता, जाजरकोट र रुकुम पश्चिमको चौरजहारी जोड्ने भेरी नदीको पुलका लागि यसै वर्ष पुनः ठेक्का आह्वान हुने तयारी गरिएको छ । यसअघि १४ करोड रुपैयाँमा ठेक्का पाएको कम्पनीले पुल अधुरो छाडेपछि ठेक्का रद्द गरिएको थियो ।
पाँचथरको चिवाभन्ज्याङबाट सुरु भई बैतडीको झुलाघाटसम्म जोडिने मध्यपहाडी राजमार्गको कुल लम्बाइ एक हजार आठ सय ७९ किलोमिटर छ । राजमार्ग छेउमा १० वटा नयाँ सहर विकास गर्ने सरकारी योजनाअन्तर्गत कर्णाली प्रदेशमा दैलेखको राकम र रुकुम पश्चिमको चौरजहारी नगरपालिका पर्नेछन् । तर, मन्ता भिर र भेरी पुलको समस्या समाधान नहुँदासम्म मध्यपहाडी राजमार्गको पूर्ण लाभ अझै अधुरो नै देखिन्छ ।










