१३, पुस २०८२
रुकुमपूर्व।जैविक विविधताका हिसाबले लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व चराचुरुङ्गीका लागि धनी रहेको पाइएको छ। जिल्लामा १३७ प्रजातिका चराचुरुङ्गीको उपस्थिति रहेको अध्ययनले देखाएको छ। तर बढ्दो मानवीय गतिविधि र वातावरणीय परिवर्तनका कारण ती चराहरूको बासस्थान संकटमा पर्दै गएको छ।
वन विज्ञान अध्ययन संस्थानका अनुसन्धानकर्ता विभूषण दाहाल र डिभिजन वन कार्यालय रुकुमपूर्वको संयुक्त टोलीले छ महिना लगाएर गरेको अध्ययनले जिल्लाको चराचुरुङ्गीको अवस्था र चुनौती सार्वजनिक गरेको हो।

डिभिजन वन कार्यालय रुकुमपूर्वका प्रमुख गणेशबहादुर खड्काका अनुसार अध्ययनका क्रममा १६ अर्डर र ४७ परिवारका चराचुरुङ्गी फेला परेका छन्। तीमध्ये ९४ प्रजाति जिल्लामै वर्षभरि बसोबास गर्ने स्थायी, ३४ प्रजाति हिउँदे आगन्तुक, ३ प्रजाति गर्मीयाममा आउने र ६ प्रजाति बाटो प्रयोग गर्ने रहेको अध्ययनले देखाएको छ।
अध्ययनअनुसार एक हजार तीन सयदेखि एक हजार आठ सय मिटर उचाइका क्षेत्रमा चराचुरुङ्गीको विविधता सबैभन्दा बढी रहेको छ। तर नौ सय ८५ देखि एक हजार तीन सय मिटर उचाइका क्षेत्रमा भने चराहरूको बासस्थान कमजोर देखिएको अनुसन्धानकर्ता दाहालले बताउनुभयो।
अध्ययनले मध्यपहाडी राजमार्ग निर्माण, अव्यवस्थित बस्ती विस्तार र कृषि क्षेत्र विस्तारका कारण प्राकृतिक वन क्षेत्र टुक्रिँदै गएको जनाएको छ। साथै लान्टाना र वनमारा जस्ता मिचाहा वनस्पतिले चराहरूको आहार र बासस्थानमा असर पुर्याइरहेको अध्ययनको निष्कर्ष छ।

अनुसन्धान टोलीले रुकुमपूर्वको प्राकृतिक सम्पदा जोगाउन तत्काल लक्षित संरक्षण योजना र दिगो विकास रणनीति अपनाउन सुझाव दिएको छ। समयमै बासस्थान संरक्षणमा ध्यान नदिए धेरै दुर्लभ प्रजातिका चरा लोप हुने जोखिम रहेको चेतावनी पनि अध्ययनले दिएको छ ।।










