बाँकेका स्थानीय तहले धमाधम दाउरा र कम्बल वितरण गर्दै

  • नमस्ते कर्णाली

  • १६, पुस २०८२

    बाँके ।बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । बाँकेका स्थानीय तहले धमाधम दाउरा वितरण गर्न थालेका छन् । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रका फोकल पर्सन रुपन ज्ञवालीका अनुसार जिल्लाका आठ वटै पालिकाले दाउरा वितरण गरिरहेका छन् ।
    पुस लागेदेखि बाँकेमा एकाध दिन बाहेक घामै लागेको छैन । स्थानीय तहले गरीब तथा विपन्नलाई कम्बल वितरण समेत गरिरहेका छन् । हालसम्म विभिन्न पालिकामा १०८० थान कम्बल वितरण भइसकेको ज्ञवालीले जानकारी दिनुभयो । जानकी गाउँपालिकामा ८००, राप्तीसोनारी गाउँपालिकामा १८०, कोहलपुर खजुरामा ५०÷५० थान कम्बल वितरण गरिएको छ । बैजनाथले पनि कम्बल वितरण सुरु गरेको जनाएको छ । १७८० थान कम्बल मौज्दात छ ।
    यस्तै सार्वजनिक स्थानमा आगो बाल्नका लागि ६४ चट्टा दाउरा मौज्दात रहेकोमा नरैनापुरले १० चट्टा तथा बैजनाथ, र राप्तीसोनारीले २÷२ चट्टा दाउरा वितरण गरिसकेका छन् भने अन्य पालिकामा पनि वितरण हुँदैछ । नेपालगन्ज उपमहानगरपालिकाले पनि आजदेखि दाउरा वितरण गर्न सुरु गरेको छ । सार्वजनिक स्थान, चोक, मानिसको भिडभाड हुने ठाउँहरुमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
    यसैगरी यहाँका सबै पालिकाले विद्यालयहरुमा जाडो विदा दिएका छन् । बाँकेमा जिल्ला विपद् ब्यवस्थापन समितिले चिसो तथा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी सोही अनुसार काम गरिरहेको जनाएको छ । उक्त योजना अनुसार यस बर्ष बाँकेमा ३६ हजार घरपरिवारका १ लाख ७६ हजार मानिस चिसो तथा शीतलहरबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

  • १६ पुष २०८२, बुधबार ११:२८ प्रकाशित

  • Nabintech