स्वर्गीय रावतको स्मृतिमा बागेश्वरी क्याम्पसमा पहिलो पटक स्मार्ट बोर्ड हस्तान्तरण

  • नमस्ते कर्णाली

  • कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा स्वर्गीय हरिप्रसाद रावतको जन्मजयन्तीको अवसरमा पहिलो पटक स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। आधुनिक प्रविधि प्रयोग गर्दै शैक्षिक क्रियाकलापलाई सहज बनाउन स्वर्गीय रावतका छोरा यम रावत र भाइ लूटबहादुर रावतले स्मार्ट बोर्ड हस्तान्तरण गएनुभएको हो। कार्यक्रममा स्वर्गीय रावतको शैक्षिक योगदानको सम्झना गर्दै सानो बृत्तचित्र प्रस्तुत गरिएको थियो। क्याम्पस प्रमुख दानबहादुर हमाललाई रिमोट र पेन सहितको स्मार्ट बोर्ड हस्तान्तरण गरिएको थियो। प्रमुख अतिथि लूटबहादुर रावतले प्रविधियुक्त शैक्षिक सामग्रीको आवश्यकता औंल्याउँदै स्मार्ट बोर्ड शिक्षण–सिकाइ प्रक्रियामा नयाँ कोसेढुंगा हुने बताउनुभयो। विशिष्ट अतिथि यम रावतले कोहलपुरलाई शैक्षिक हबको रूपमा चिनाउन र आधुनिक प्रविधिको सहायताले पठनपाठनलाई सहज बनाउने उद्देश्यले स्वर्गीय बुवाको स्मृतिमा यो कदम उठाइएको जानकारी गराउनुभयो। कार्यक्रममा क्याम्पस प्रमुख दानबहादुर हमालले स्वर्गीय रावतको योगदानको उच्च प्रशंसा गर्दै क्याम्पसको स्थापनादेखि हालसम्मको विकासमा उनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। डिग्री तहसम्मको पठनपाठन सस्तो शुल्कमा उपलब्ध गराउन स्वर्गीय रावतको पहलकदमी रहेको हमालले स्मरण गर्नुभयो। अन्य वक्ताहरूले स्वर्गीय रावतले कोहलपुरमा शैक्षिक क्रान्ति ल्याउन खेलेको भूमिकाको चर्चा गर्दै क्याम्पसको इतिहासलाई जोगाएर राख्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बागेश्वरी क्याम्पसलाई अर्धप्राविधिक धार, विज्ञान विषय, स्नातकदेखि स्नातकोत्तर तहसम्मका पाठ्यक्रम सञ्चालन गर्न सफल क्याम्पसका रूपमा विकसित गर्न स्वर्गीय रावतको योगदानको प्रशंसा गरिएको थियो। हस्तान्तरण गरिएको स्मार्ट बोर्डले विद्यार्थीसँगै क्याम्पसका शैक्षिक गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा पूर्व क्याम्पस प्रमुख खगराज पन्त, प्राध्यापक संघका उपाध्यक्ष मीन केसी, कर्मचारी संघका अध्यक्ष शिव रेग्मी, वैचारिक संघका प्रतिनिधि, पत्रकार, विद्यार्थीको बाक्लो उपस्थिति रहेको  थियो।

  • १० माघ २०८१, बिहीबार १३:११ प्रकाशित

  • Nabintech