बाँकेका किसानले ११ करोडभन्दा बढीको धान बिक्री गरे

  • नमस्ते कर्णाली

  • १४, माघ २०८१

    बाँके। बाँके जिल्लाका किसानहरूले यो वर्ष ११ करोड रूपैयाँभन्दा बढीको धान बिक्री गरेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले दुई महिनाको अवधिमा किसानहरूसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको जनाएको छ।

    कार्यालयले गत कात्तिक २० गतेबाट धान खरिद सुरु गरी पुस १९ गतेसम्म ११ करोड ३३ हजार ७१ लाख २ सय ९५ रूपैयाँ बराबरको धान खरिद गरेको हो। जसमा मोटा धान २ करोड ६१ लाख २ हजार १ सय ३३ रूपैयाँ र मध्यम धान ८ करोड ७२ लाख ६९ हजार १ सय ६२ रूपैयाँ बराबर रहेको शाखा प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो।

    धान खरिदको क्रममा किसानहरूले मोटाभन्दा मध्यम धान बढी बिक्री गरेका छन्। कार्यालयका अनुसार ३० हजार क्विन्टल मोटा र २५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने लक्ष्य लिइए पनि अन्ततः ७६५३ क्विन्टल मोटा र २४३७२ क्विन्टल मध्यम धान खरिद गरिएको छ।

    शाखा प्रमुख लामिछानेका अनुसार बजारका व्यापारीहरूले चिउरा उत्पादनका लागि अधिक मूल्यमा मोटा धान खरिद गरेकाले कम्पनीले लक्ष्यअनुसारको मोटा धान खरिद गर्न सकेन। यस वर्ष मध्यम धान खरिदको लक्ष्य भने पूरा भएको जानकारी उहाँले दिनुभयो।
    सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धानको ३४१० रूपैयाँ ५१ पैसा र मध्यम धानको ३५८० रूपैयाँ ६२ पैसा प्रतिक्विन्टलमा धान खरिद गरिएको हो।
    गत वर्ष ५१ हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखेको कार्यालयले केवल ८ हजार क्विन्टल धान खरिद गरेको थियो। तर यस वर्ष मध्यम धानको माग बढेपछि केन्द्रीय कार्यालयसँग समन्वय गरी ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य तोकिएको थियो।

    कृषि उत्पादनमा सुधार हुँदै गए पनि बजार व्यवस्थापन र व्यापारिक प्रतिस्पर्धाका कारण धान खरिदमा चुनौती रहेको कार्यालयले जनाएको छ।

     

  • १४ माघ २०८१, सोमबार १८:३१ प्रकाशित

  • Nabintech