भोलिदेखि कोहलपुरमा निराहार ९ दिने भू-तपस्या

  • नमस्ते कर्णाली

  • सरला सुवेदी
    १४, माघ २०८१
    बाँके। कोहलपुर नगरपालिका-११, न्युरोडस्थित खुला मैदानमा भोलिदेखि ९ दिने निराहार भू-तपस्या सुरु हुने भएको छ। मनोक्रान्ति विश्व परिवारका प्रणेता पुजनीय गुरुदेव डा. योगी विकासानन्दको निर्देशनमा सुरु हुने यस तपस्याका लागि ९ फिट गहिरो र ९ फिट चौडा खाल्डो तयार गरिएको छ।
    नीलसागरकी संरक्षक डा. सरिता खनालका अनुसार, भू-तपस्या कुनै पनि आहार नखाई जमिनमुनि ओडारमा बसेर गरिन्छ, जसले मानसिक शान्ति र शारीरिक स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्छ।

    नीलसागरका डा. अमन सुवेदीका अनुसार, पछिल्लो समय मानिसहरूमा मानसिक तनाव बढ्दै गएको छ, जसको कारण हामीले मानसिक स्वास्थ्यप्रति वेवास्ता गर्दै आएका छौं। उहाँले भू-तपस्या जस्तो ध्यान विधिले मानसिक तनावलाई कम गरी सकारात्मक ऊर्जा प्रदान गर्न सक्ने बताउनुभयो।

    भू-तपस्वी योगी अद्वैतका अनुसार, भू-तपस्या अत्यन्त कठिन साधना हो। जमिनमुनिको अक्सिजनको कमिका बाबजुद, ध्यान र साधनामा लीन भएपछि गहिरो मानसिक शान्ति र आनन्दको अनुभव हुन्छ। गुरुले तपस्या गरिरहँदा आसपासका व्यक्तिहरूले पनि सकारात्मक ऊर्जा र विचार तरङ्ग महसुस गर्न सक्ने बताइएको छ।


    मनोक्रान्ति दर्शन मानव जीवनलाई सरल, स्वस्थ र सन्तुलित बनाउने ज्ञान हो। यस दर्शनअन्तर्गत ध्यान, योग र तपस्यालाई केन्द्रमा राखेर मानिसहरूको मानसिक र शारीरिक स्वास्थ्यलाई सुधार गर्न प्रेरित गरिन्छ। भू-तपस्यालाई मनोक्रान्तिको महत्त्वपूर्ण अंशका रूपमा अघि सारिएको छ।


    गुरुदेव डा. योगी विकासानन्द ज्युको यो अभियानले मानसिक र शारीरिक शान्ति खोजिरहेका व्यक्तिहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ। कोहलपुरका नागरिकलाई भू-तपस्याको अनुभव लिने अवसर दिनुका साथै यसले समाजमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।
    र अन्तिम दिन गुरुदेव डा. योगी विकासानन्द ज्युको पनि सहभागीता रहने छ। साथै यस कार्यक्रममा सम्पुर्ण कोहलपुरबासिलाई उपस्थित हुन आग्रह समेत गरिएको छ।

     

  • १४ माघ २०८१, सोमबार २०:५६ प्रकाशित

  • Nabintech