२, फाल्गुन २०८१
हुम्ला ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक गर्दा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ। १७ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा सिमकोटले सबैभन्दा बढी अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
वित्त आयोगका अनुसार सात स्थानीय तहमध्ये सिमकोट गाउँपालिकाले ७७ प्रतिशत अंक प्राप्त गरी पहिलो भएको छ भने खार्पुनाथ गाउँपालिका ७१.१ प्रतिशत अंकसहित दोस्रो स्थानमा रहेको छ। ताँजाकोट गाउँपालिकाले ६१.२ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ। अन्य गाउँपालिकाहरूको क्रमशः चङ्खेली (५७.६%), अदानचुली (४९.९%), सर्केगार्ड (४४.४%) र सबैभन्दा कम अंक प्राप्त गर्ने नाम्खा गाउँपालिका (३९%) रहेका छन्।
स्थानीय तहको आर्थिक व्यवस्थापन, राजस्व संकलन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, बजेट कार्यान्वयन, सुशासन, समन्वय, न्यायिक विषयहरू लगायतका सूचकको आधारमा मूल्याङ्कन गरिएको हो। लेखा अधिकृत विशाल बाहेराले शिक्षा, स्वास्थ्य, कर्मचारी तथा जनप्रतिनिधिहरूको तालिमलाई विशेष प्राथमिकता दिएकाले उच्च अंक प्राप्त गर्न सफल भएको बताउनुभयो।
सिमकोट गाउँपालिकाले मूल्याङ्कन सुरु भएयता कर्णाली प्रदेशमा पहिलो पटक शीर्ष स्थान हासिल गरेको हो भने हुम्लाका स्थानीय तहहरूमध्ये यो तेस्रो पटक पहिलो भएको हो। उत्कृष्ट कार्यसम्पादनका लागि आयोगले गाउँपालिकालाई ५० लाख रुपैयाँ अनुदान प्रदान गर्नेछ।











