मुख्यमन्त्री कोहलपुर गोल्डकपमा आज कर्णालीको काक्रे बिहार एफ.सी र अफ्रिकाको घानाबीच रोमाञ्चक भिडन्त

  • नमस्ते कर्णाली

  • सरला सुवेदी 

    २०, फल्ल्गुन २०८१
    बाँके ।मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज फागुन २० गते नेपालका राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहने काक्रे बिहार फुटबल क्लब, सुर्खेत (कर्णाली प्रदेश) र अफ्रिकी राष्ट्र घाना बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। खेल कोहलपुर रंगशालामा दिउँसो ३:३० बजे सुरु हुने खेल संयोजक कर्ण बस्नेतले जानकारी दिनुभएको छ।

    काक्रे बिहार फुटबल क्लब आफ्नो आक्रामक खेल शैलीका लागि परिचित छ भने घानाको टोली ट्याक्टिकल प्ले र शारीरिक क्षमतामा उत्कृष्ट मानिन्छ। दुवै टिम उच्च मनोबलका साथ मैदानमा उत्रने तयारीमा छन्, जसले खेललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

    अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा प्रदान गर्ने उद्देश्यसहित सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन १७ गतेदेखि सञ्चालनमा आएको हो। कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा भइरहेको प्रतियोगितामा भारत, घाना लगायतका आठ टोलीहरूको सहभागिता छ।

    प्रतियोगिताको विजेता टिमले रु. ८ लाख र उपविजेता टिमले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ। आयोजक समितिले खेल संयोजनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ।

    फुटबलप्रेमी दर्शकहरूका लागि यो खेल नेपाल र अफ्रिकाबीचको उत्कृष्ट प्रतिस्पर्धा हेर्ने दुर्लभ अवसर हुनेछ। आयोजकले खेलप्रेमीहरूलाई रंगशालामा उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ।

     

  • २० फाल्गुन २०८१, मंगलवार ११:४० प्रकाशित

  • Nabintech