३, चैत २०८१
बाँके ।नेपालका कारागारहरूको वर्तमान अवस्था, व्यवस्थापन र सुधार आवश्यकताबारे सांसद सूर्य ढकालले प्रतिनिधिसभामा विशेष ध्यानाकर्षण गराएका छन्। उनले नेपालमा हाल ७२ जिल्लामा ७५ वटा कारागार सञ्चालनमा रहेको तथ्य उल्लेख गर्दै, यी कारागारहरूको कुल क्षमता १६,००० भए पनि हाल ३०,००० भन्दा बढी कैदीबन्दीहरू राखिएको बताएका छन्।
ढकालका अनुसार हाल २८,८६० पुरुष, १,६६१ महिला कैदीहरू रहेका छन् भने ८२ जना पाँच वर्षमुनिका नाबालकहरू आमासँगै कारागारमा बस्न बाध्य छन्। साथै, ६५ वर्षभन्दा माथिका ६०१ जना कैदीबन्दी र १,४६१ जना विदेशी कैदी पनि छन्।
सांसद ढकालले हाल नेपालमा नौवटा बाल सुधार गृह सञ्चालनमा रहेको जानकारी दिँदै, त्यहाँ १,३७२ जना बालबन्दी रहेको बताए। तीमध्ये ३६ जना बालिकाहरू छन्, जसमा जबरजस्ती करणी, लागूऔषध ओसारपसार तथा सेवनका आरोपमा थुनामा परेका बालबालिकाको संख्या उल्लेख्य रहेको छ।
नेपालगञ्जको जयन्दु बाल सुधार गृहमा गएको शुक्रबार मध्यराति भएको झडपमा ४९ जना बालबन्दी घाइते भएको घटनालाई उठाउँदै उनले बाल सुधार गृह व्यवस्थापनको खस्कदो अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले १८ वर्षभन्दा माथिका बन्दीहरूलाई बाल सुधार गृहमा राख्दा बारम्बार झडप हुने भएकाले तत्काल कानुन संशोधन गरी उनीहरूलाई कारागारमै स्थानान्तरण गर्नुपर्ने माग राखे।
साथै, अहिलेसम्म बाल सुधार गृह सञ्चालन कार्यविधि नै निर्माण नभएको भन्दै सांसद ढकालले तत्काल उक्त कार्यविधि बनाएर कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।
सांसद ढकालले बाँके जिल्लाको नौबस्ता गाउँपालिका–३ मा रहेको नौबस्ता कारागारबारे पनि गम्भीर प्रश्न उठाए। बाहिरबाट हेर्दा सुविधा सम्पन्न देखिने यो कारागार सञ्चालन भएको एक वर्ष नपुग्दै चार पटक कैदीहरू फरार भइसकेको उल्लेख गर्दै उनले यसका लागि भवनको त्रुटिपूर्ण डिजाइन जिम्मेवार रहेको बताए।
“यो घटना कारागार सुरक्षाकर्मी वा कर्मचारीको लापरवाहीका कारण नभई, कारागार भवन डिजाइनमै गल्ती भएको कारण घटिरहेको छ। डिजाइन गर्ने, स्वीकृति दिने र भवन पास गर्ने निकायलाई छानबिनको दायरामा ल्याइनुपर्छ,” उनले भने।
सांसद ढकालले सरकारलाई कारागार सुधार, बाल सुधार गृह व्यवस्थापन तथा सुरक्षासम्बन्धी नीतिगत सुधारका लागि तत्काल आवश्यक कदम चाल्न आग्रह गर्दै आफ्नो धारणा राखे।