८, चैत्र २०८१
बाँके ।पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा बिहीबार नेपाली कांग्रेस बाँकेले ‘गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीको आयोजना गर्यो।
गोष्ठीमा अधिकांश वक्ताहरूले गिरिजाप्रसाद कोइराला जस्तो अडिग र दूरदर्शी नेता मुलुकका लागि अहिले पनि आवश्यक रहेको धारणा व्यक्त गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले कोइरालाको दूरदर्शिता र नेतृत्व क्षमताको स्मरण गर्दै कांग्रेसमा त्यस्तै नेताको अभाव खड्किएको बताउनुभयो ।

बाल्मिकीले भनन्नुभयो “लोकतान्त्रिक जनआन्दोलनका नायक कोइरालाकै नेतृत्वमा सशस्त्र द्वन्द्वको अन्त्य भएको हो। माओवादीलाई राजनीतिक मूलधारमा ल्याएर मुलुकलाई शान्ति स्थापना गराउन कोइरालाको भूमिका अतुलनीय रह्यो।”
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कोइरालाले हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै मजदुरहरूको हकअधिकारका लागि उहाँको योगदान उल्लेखनीय रहेको बताउनुभयो।
लुम्बिनी प्रदेशसभाका सदस्य बादशाह कुर्मीले कोइरालाकै पहलमा लोकतान्त्रिक आन्दोलन सफल भएको स्मरण गर्नुभयो उहाँले भन्नुभयो, “कांग्रेस पराजय हुने अवस्थामा पनि संविधानसभाको निर्वाचन गराएर कोइरालाले देशलाई निकास दिनुभयो।”

महासमिति सदस्य लुटबहादुर खत्रीले पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्न कोइरालाको त्याग र शिक्षा अनुसरण गर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले कोइरालालाई “यो युगको शिखर पुरुष” भनेर वर्णन गर्नुभयो।
प्रदेश क्षेत्रीय सभापतिहरूको तर्फबाट बाँके क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्मा, नेपाल किसान संघका केन्द्रीय सदस्य शारदा शर्मा, दलित संघ बाँकेका अध्यक्ष कृष्णबहादुर बिक, कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, जिल्ला सदस्य उमा थापा, कांग्रेस लुम्बिनी प्रदेश सदस्य परमेश्वरी पाठक, र महासमिति सदस्य दुखिराम लोनियालगायतले स्व. कोइरालाको योगदानको चर्चा गर्नुभएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रका पदाधिकारी, पालिका सभापति, वडा सभापति लगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।











