लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्रः मुख्यमन्त्री आचार्य

  • नमस्ते कर्णाली

  • २९, बैशाख २०८२

    बाँके ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताउनु भएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशवासीसँगै सम्पूर्ण नेपाली जनताको सक्रिय सहभागिता र सहकार्यमा मात्र लुम्बिनीको दीर्घकालीन र दिगो विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभएको हो । भगवान् बुद्धका उपदेशहरूबाट प्रेरणा लिएर सामाजिक सद्भाव, सहिष्णुता, एकता र समर्पणको भावना फैलाउन आग्रह समेत गर्नुभएको छ ।
    लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिनुभयो । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रविन्दुमा राखी कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर ‘बुद्ध सर्किट’ निर्माण गर्ने र समग्र १२ जिल्लालाई समेट्ने ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणालाई कार्यान्वयन गर्ने संकल्प गरिएको उहाँले उल्लेख गर्नुभयो ।

    ‘लुम्बिनीको समग्र विकासका लागि तयार पारिएको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित छ’ मुख्यमन्त्री आचार्यले सन्देशमा उल्लेख गर्नुभएको छ,‘बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा, सदाचार र शान्तिको मार्गदर्शनले व्यक्ति, समाज, राष्ट्र र विश्वकै कल्याणमा सकारात्मक प्रभाव पार्ने छ भन्ने दृढ विश्वास लिएको छु ।’
    मुख्यमन्त्री आचार्यले लुम्बिनीको पूर्वाधार, पहुँच, पर्यटन प्रवद्र्धन र विश्व समुदायसँगको सहकार्यका माध्यमबाट लुम्बिनीलाई विश्वस्तरीय गन्तव्यस्थल बनाउन तिब्र प्रयास भइरहेको जानकारी दिनुभयो ।

     

  • २९ बैशाख २०८२, सोमबार ०८:५४ प्रकाशित

  • Nabintech