९ वर्षदेखि ओछ्यानमा थला परेका हरिचन्द्र रावलको पीडा : ‘मृत्युलाई नै प्रार्थना गर्न थालेँ’

  • नमस्ते कर्णाली

  • ८, जेष्ठ २०८२
    जुम्ला।”म मर्छु कि भनेर कुर्दै बसेको छु।” — यो भनाइ हो, झण्डै ९ वर्षदेखि ओछ्यानमा थला परेका हरिचन्द्र रावलको।
    विसं २०७३ सालमा जुम्लाको मिचा गाउँका रावल ट्याक्टरमा बालुवा लिन जाँदा भएको भीषण दुर्घटनामा परे। ट्याक्टरमा उनका साथ रहेका एक जनाको ज्यान गयो भने अर्काको खुट्टा भाँचियो। रावल बाँच्न त बाँचिए, तर त्यो दुर्घटना उनको जीवनकै सबैभन्दा ठूलो दुर्घटना बन्यो।

    दुर्घटनापछि सुरूमा जुम्लाकै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज हुँदै भारतको लखनउसम्मको महंगो उपचार यात्रा भयो। लाखौं रुपैयाँ खर्चियो, तर निको भएनन्। शरीरका नसामा गम्भीर क्षति पुग्यो। दुवै खुट्टा चल्दैनन्, दायाँ हात पनि चल्दैन। दिसा–पिसाब पेटमा राखिएको पाईपबाट हुन्छ। त्यो पाईप राखिएको स्थानमा समेत घाउ बल्झिएको छ।

    आम्दानीको स्रोत केही छैन। भएको थोरै सम्पत्ति समेत घर-खेतसहित उपचारमा सकियो। अहिले बस्ने घर बैंकमा धितो छ। साथ दिएका थिए पत्नी पनि, तर अवस्था सहन नसकी अर्कै विवाह गरिन्।

    आज हरिचन्द्रसँग उनकी वृद्ध आमा कर्मकली रावल मात्रै छन्। उनले आँखा भरिंदै भनिन्, “९ वर्ष भयो, छोरा ओछ्यानमै थलिएपछि स्याहारमा दिन–रात बितेको छ। घाउ सफा गर्ने, औषधि किन्न पनि पैसा छैन। खाना जुटाउन हम्मे–हम्मे पर्छ।”

    रावलको मासिक स्याहारमै करिब २० हजार रुपैयाँ लाग्छ, तर अहिले ह्विलचेयर समेत छैन। अस्पताल जानु परे आमाले बोकेरै लैजानुपर्छ।

    पीडामा झन पीडा थपिएको छ— हरिचन्द्रका बुबा कर्मसिंह रावल पनि अहिले विरामी छन्। पेट र पायल्सको शल्यक्रियापछि अवस्था झन जटिल छ।

    परिवारले पटक–पटक स्थानीय सरकारसँग उपचार सहयोगको माग गरे। पूर्व नगरप्रमुख कान्तिका सेजुवालको पालामा २५ हजार रुपैयाँ माग गरिएको थियो, तर अहिलेसम्म सहयोग नपाएको पीडित पक्ष बताउँछ। सेजुवाल अहिले जुम्लाबाट समानुपातिक संघीय सांसद बनेका छन्।

    चन्दननाथ नगरपालिकाकी महिला विकास निरीक्षक पुष्पा थापाले भने, “हामीले उनलाई सहयोग गर्न पहल गरिरहेका छौं।” तर अवस्था गम्भीर बन्दै गइरहेका छन्।

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपाने भन्छन्, “यस्ता अशक्त व्यक्तिलाई राज्यले निशुल्क उपचारको व्यवस्था गर्नु अनिवार्य हो। तर त्यो व्यवहारमा देखिँदैन।”

    हरिचन्द्र रावल आजभोलि लखनउ गइ पुनः उपचार गर्ने आशामा छन्। तर त्यो पनि पैसामा अडिएको छ। आमाले भने, “अब छोरालाई बाँचाउने उपाय अरु छैन, दया गरिदिनुहोस्।”
    यदि तपाईं सहयोग गर्न चाहनुहुन्छ भने, यो परिवारका लागि सानो सहयोग पनि जीवन बाँच्ने आशा बन्न सक्छ।

     

     

  • ९ जेष्ठ २०८२, बिहीबार ११:४४ प्रकाशित

  • Nabintech