१०, जेष्ठ २०८२
हुम्ला। हिमताल भासिएर आएको लेदो मिसिएको भीषण बाढी र पहिरोले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ।
जेठ १ गते राती एक्कासी आएको बाढीले गाउँको खानेपानी आयोजना, लघु जलविद्युत् परियोजना, सिँचाइ कुलो, काठेपुल, खेतीयोग्य जमिन लगायतका भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनाएको हो। नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्यायका अनुसार बाढी पहिरोका कारण गाउँमाथि रहेका करिब ५ हजार ३५० मिटर उचाइका दुईवटा हिमताल भासिएर आएको भेलले ५ वटा काठेपुल, ५० देखि ५५ हेक्टर खेतीयोग्य जमिन, ४ वटा सिँचाइ कुलो, १५ किलोवाट क्षमताको लघु जलविद्युत् परियोजना र गाउँको खानेपानी आयोजना तहसनहस पारेको छ।
गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा क्षतिको अवलोकन तथा विवरण संकलन गरिएको छ। संकलित प्रतिवेदन जिल्ला, प्रदेश तथा सङ्घीय सरकारलाई बुझाइएको जनाइएको छ।
प्राकृतिक विपत्तिका कारण १८ घरपरिवारका ३३ जना विस्थापित भई त्रिपालमुनि बस्न बाध्य छन्। खानेपानी आयोजना नष्ट भएपछि स्थानीय दूषित खोलाे पानी पिउन बाध्य छन्, जसका कारण स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढेको छ।
सरकारबाट एक हप्तापछि मात्र राहत सामग्री पुगे पनि दूषित पानीको शुद्धीकरणको उचित व्यवस्था नहुँदा संक्रमण फैलिने चिन्ता थपिएको छ। स्थानीयले तत्काल स्वच्छ पानी, सुरक्षित बसोबास र स्वास्थ्य सेवाको माग गरिरहेका छन्।