तीनपटकको प्रयास, अझै बाँच्ने संघर्षः अदानचुलीमा पारिवारिक पीडाले थिचिएका पुरुषको आत्महत्याको प्रयास

  • नमस्ते कर्णाली

  • १२, जेष्ठ २०८२
    हुम्ला । अदानचुली गाउँपालिका वडा नं. ५ काँखेका एक ४८ वर्षीय पुरुष (शाही थर) ले फेरि एकपटक आत्महत्याको प्रयास गरेका छन्। लामो समयदेखि पारिवारिक विबादमा जकडिएका ती पुरुषले आइतबार दिउँसो पौने १२ बजेको समयमा सलको पासो घाँटीमा लगाएर आत्महत्या गर्न खोजेका हुन्।

    घटनाको समयमा घर नजिकै रहेका हिरा बहादुर शाहीले ती पुरुषलाई पासो लगाएको अवस्थामा देखेपछि तत्काल पासो फुकाएर ज्यान जोगाएका थिए। उनलाई अचेत अवस्थामा तत्काल श्रीनगर स्वास्थ्य चौकीमा पुर्याइएको थियो।

    स्वास्थ्य चौकीका इन्चार्ज रामशरण थापाका अनुसार, घाँटीमा पासोको असर देखिएको र थप परीक्षणका लागि उनलाई भिडियो एक्सरे गर्न सिफारिस गरिएको छ। “बाह्य चोटपटक खासै देखिएन, तर पासोका कारण भित्री असर हुनसक्ने देखेर रिफर गरेका हौं,” थापाले जानकारी दिए।

    श्रीनगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सुरेश सुनारका अनुसार, ती पुरुषले यसअघि पनि दुई पटक आत्महत्या प्रयास गरिसकेका थिए। परिवारभित्रको निरन्तर विवादले मानसिक रुपमा थिचिएको देखिएको छ।

    हाल उपचारपछि चेत खुलेको र स्वास्थ्यमा सामान्य सुधार आएपछि उनलाई घर पठाइएको छ। आफन्तहरूका अनुसार, ती पुरुष लामो समयदेखि तनावमा थिए र यदाकदा आत्मघातको संकेत दिने गरेका थिए।

    यो घटना अदानचुलीको ग्रामीण परिवेशमा दबिएको पारिवारिक पीडा र मानसिक स्वास्थ्यको गम्भीर प्रश्न पनि हो। स्थानीय तहले यस्ता समस्यामा ध्यान दिन नसक्दा ग्रामीण भेगका नागरिक अझै पनि मौन पीडामा बाँचेका छन्।

     

     

  • १३ जेष्ठ २०८२, सोमबार १०:३० प्रकाशित

  • Nabintech