१२, जेष्ठ २०८२
बाँके ।नेपालमा पाइने दुर्लभ र मूल्यवान् जडीबुटीको व्यावसायिक खेतीमार्फत संरक्षण, संवर्द्धन र सदुपयोग गर्दै आर्थिक समृद्धिमा टेवा पुर्याउन सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल जडीबुटी व्यवसायी सङ्घको २६औँ साधारणसभामा वक्ताहरूले जडीबुटी खेती गर्ने किसानलाई थप प्रोत्साहन गर्नुपर्नेमा एकमत भएका थिए। उनीहरूले नेपालमा जडीबुटीसम्बन्धी नीति परिमार्जन गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा जडीबुटी व्यवसाय समस्यामा परेको बताएका छन्।
लुम्बिनी प्रदेशकी सांसद मीना बोहोरा सिद्धिकीले जडीबुटी नेपालको समृद्धिको आधार भएको उल्लेख गर्दै यसलाई प्रवर्द्धन गर्न नीतिगत उल्झन फुकाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले भूगोलअनुसार हिमाल, पहाड र तराई क्षेत्रमा जडीबुटीको अपार सम्भावना रहेको बताउँदै प्रदेश सरकारले नीति तथा कार्यक्रममा जडीबुटी प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले जडीबुटी निकासीमा लाग्ने कर तथा शुल्क बढी रहेको, साथै भारतीय पक्षको ढिलासुस्तीका कारण दुई हजार टनभन्दा बढी जडीबुटी गोदाममै थन्किनु परेको गुनासो गर्नुभयो। उहाँले राज्यले जडीबुटी क्षेत्रलाई बेवास्ता गरेको आरोप समेत लगाउनुभयो।
कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी, पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, कांग्रेस नेता धनराज बर्मा, किसान सङ्घ बाँके अध्यक्ष सुरेन्द्र श्रेष्ठसहितका वक्ताहरूले जडीबुटी खेती र व्यवसाय विस्तारमा सहकार्य र नीतिगत स्पष्टताका लागि आग्रह गरेका थिए।
सो अवसरमा व्यावसायिक रूपमा जडीबुटी खेती गर्दै आएका सल्यान छत्रेश्वरीका कीर्तिबहादुर वली र सुर्खेत सिम्ता गाउँपालिका–२ का लालबहादुर बुढालाई सम्मान गरिएको थियो।
सङ्घले जडीबुटी व्यवसायलाई राष्ट्रको दिगो आर्थिक विकासको मेरुदण्डका रूपमा लिनुपर्ने सुझाव दिँदै किसानप्रति राज्यको ध्यान केन्द्रित गरिनुपर्नेमा जोड दिएको छ।