बर्दियामा चितुवाको आतंक : सात वर्षीय बालिकाको ज्यान गएपछि नियन्त्रणका लागि हात्ती परिचालन

  • नमस्ते कर्णाली

  • १६, जेष्ठ २०८२
    बर्दिया। गुलरिया नगरपालिका–५ बालापुरमा सात वर्षीय बालिका सायरा थारूको चितुवा आक्रमणमा परी मृत्यु भएपछि चितुवालाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती परिचालन गरेको छ। बुधबार बिहान भएको घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् भने सुरक्षात्मक कदमस्वरूप चितुवाको खोजी तीव्र पारिएको छ।

    चितुवाको बासस्थान पहिचान गर्न बुधबारदेखि नै पाँचवटा क्यामेरा जङ्गल क्षेत्रमा जडान गरिएको छ। त्यसैगरी डार्ट गनसहित चिकित्सक र प्राविधिकको टोली खटिएको छ भने चितुवालाई फसाउने उद्देश्यले बाख्रा राखेर दुईवटा पासोसमेत बनाइएको छ। तर चितुवा नियन्त्रणमा आउन नसकेपछि आज बिहानदेखि दुईवटा हात्ती परिचालन गरिएको हो।

    राष्ट्रिय प्रकृति संरक्षण कोष, ठाकुरद्वारा कार्यालयका प्रमुख अजितराज तुम्बाहाम्फेले चितुवा नियन्त्रणमा लिनका लागि रातदिन प्रयास भैरहेको बताउनुभयो। उहाँका अनुसार प्राविधिक टोलीले राति १२ बजेसम्म मचान बनाएर चितुवाको प्रतीक्षा गरे पनि सफलता प्राप्त भएको छैन। अब हात्तीको सहायताले जंगलभित्र खोजी अझ तीव्र पारिएको छ।

    चितुवाको आक्रमणबाट बालिका सायरा थारूको मृत्यु भएपछि स्थानीयबासी आक्रोशित हुँदै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए। प्रशासनसँगको सहमतिपछि चितुवाको खोजीका लागि व्यापक अभियान सुरू गरिएको हो।

    पछिल्लो समय बर्दिया जिल्लामा चितुवाको आतंक बढ्दो क्रममा रहेको वन कार्यालयको भनाइ छ। कार्यालयका अनुसार, गत मङ्सिर यता मात्रै चितुवाको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन्। यसअघि पनि वैशाख १५ गते सरयू सामुदायिक वन क्षेत्रमा चितुवाको आक्रमणबाट नौ वर्षीया मेलिना खड्काको ज्यान गएको थियो।

    चितुवाको निरन्तर बढ्दो आक्रमणले स्थानीयवासी त्रसित छन् र स्थायी समाधानको माग गर्दै आएका छन्।

     

     

  • १७ जेष्ठ २०८२, शुक्रबार ०६:३३ प्रकाशित

  • Nabintech