राप्ती नदीको बाढीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

  • नमस्ते कर्णाली

  • १६, जेष्ठ २०८२
    बाँके।बाँकेको नरैनापुर गाउँपालिकास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बिओपी) गङ्गापुरले राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ।

    गएराति राप्तीसोनारी गाउँपालिका-६ र डुडुवा गाउँपालिका-५ को सिमानामा राप्ती नदीको भँगालोमा फसेका ती व्यक्तिहरूलाई बिओपी गङ्गापुरका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको हो। सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरी, बाँकेका अनुसार उक्त टोली करिब एक घण्टा लगाएर उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भयो।

    डुडुवा गाउँपालिकाले लगाएको निर्माणसम्बन्धी ठेक्काअन्तर्गत बालुवा लोड गरी फर्किने क्रममा ती तीन जना नदीको भँगालोमा बाढीले बगाएर फस्न पुगेका थिए। घटना थाहा पाएलगत्तै उद्धार सामग्रीसहितको टोली तुरुन्तै घटनास्थलतर्फ खटिएको थियो।

    सशस्त्र प्रहरीको उद्धार टोलीसँगै कम्रीस्थित इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बाँके तथा सशस्त्र प्रहरी बलको फत्तेपुरस्थित अप्पर पोस्टबाट खटिएका अन्य टोलीहरूले पनि उद्धार कार्यमा सहयोग गरेका थिए।

    सशस्त्र प्रहरीको त्वरित र समन्वित प्रयासले ज्यान जोखिममा परेका नागरिकलाई सकुशल उद्धार गरिनु सुरक्षित समाज निर्माणतर्फको सकारात्मक उदाहरण भएको जनाइएको छ।

     

  • १७ जेष्ठ २०८२, शुक्रबार १२:१४ प्रकाशित

  • Nabintech