१७, जेष्ठ २०८२
बाँके ।बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा निर्माणाधीन ७०० मिटर लामो पुलको लम्बाइ पर्याप्त नहुने भन्दै त्यसलाई ११४० मिटर पुर्याउन माग गरिएको छ। नेपालगञ्ज–बघौडा हुलाकी सडक अन्तर्गत बन्ने उक्त पुलको लम्बाइ नबढाए राप्ती सोनारी र नरैनापुर क्षेत्रमा हरेक वर्ष बाढीले डुबानको खतरा रहिरहने भन्दै जनप्रतिनिधि तथा स्थानीयवासीहरूले सडक विभागको उच्चस्तरीय टोलीसँग माग गरेका हुन्।
हुलाकी राजमार्ग आयोजना, नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीको नेतृत्वमा पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगर र सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल सहितको टोलीले हालै निर्माणस्थलको अनुगमन गरेको थियो।
निर्माण कम्पनी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीका प्रबन्धक धिरेन्द्र दाहालका अनुसार अहिले ७०० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण भइरहेको छ, जसको दुवै छेउमा १.७५ मिटरको फुटपाथ पनि समेटिएको छ। भ्याटसहित १ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो पुल सन् २०२८(२०८४ असार मसान्त) भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
अनुगमनका क्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद, राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा थारु, तथा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य चिम बहादुर घर्तीलगायतले पुलको लम्बाइ नबढाइए बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति हुने चेतावनी दिएका थिए।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जनप्रतिनिधिहरूको माग यथार्थपरक रहेको भन्दै सो विषयमा माथिल्लो निकायलाई अवगत गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस पुल निर्माणको पहल लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुनाले गर्नुभएको थियो भने त्यसलाई तत्कालीन भौतिक पूर्वाधार मन्त्री मो. इस्तियाक राईले बजेट सुनिश्चित गरी अघि बढाइएको हो। निर्माण सम्झौता २०७९ माघमा सम्पन्न गरिएको हो र कुल ५३ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ।