१७, जेष्ठ २०८२
बाजुरा । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–१, २ र ३ वडालाई सडक सञ्जालमा जोड्ने उद्देश्यले खडाडिल, पम्पानी, मैतार्ना हुँदै बौडीसम्मको ग्रामीण सडकको शिलान्यास गरिएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले शनिबार एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको हो।
२ करोड ५५ लाख रुपैयाँ बराबरको ठेक्का प्रक्रियामार्फत निर्माण कार्य अगाडि बढाइएको यो सडक योजनामा चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट ६५ लाख र गाउँपालिकाबाट ३० लाख गरी जम्मा ९५ लाख रुपैयाँको बजेट सुनिश्चित भएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार “जनताका पीडा र विकट भूगोलको चुनौतीलाई स्वीकार गर्दै जोखिम मोलेर सडक निर्माण थालिएको” हो। आगामी वर्ष थप १ करोड ६० लाख रुपैयाँ बजेट संघ र प्रदेश सरकारसँग माग गरिएको छ, जसबाट सडक युना बगरसम्म विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।
ग्रामीण सडकसहित मैतार्नामा एकवटा पुल पनि अनिवार्य रूपमा निर्माण गर्नुपर्ने देखिएको छ। यस सडकले खडाडिल, पम्पानी, मैतार्ना, डिन्याचौर हुँदै बौडी गाउँसम्मको क्षेत्रलाई समेट्नेछ। कुल लागत २ करोड ५४ लाख ७३ हजार ९ सय ६६ रुपैयाँ ९९ पैसाको ठेक्का खोलेर काम सुरु गरिएको गाउँपालिका स्रोतले जनाएको छ।
अध्यक्ष मल्लका अनुसार, “आफ्नो कार्यकालमा गाउँपालिकाका सबै वडामा सडक संजाल विस्तार गर्ने संकल्पसहित काम गरिरहेका छौं। सडकसँगै टेलिफोन टावर विस्तार पनि हाम्रो प्राथमिकतामा छ।”
उहाँले दुर्गम बिच्छ्यामा सडकको पहुँच पुर्याउन पटक–पटक संघ र प्रदेश सरकारलाई पत्राचार गरिसकेको बताउँदै, अब केही महिनाभित्र बिच्छ्यावासीको पिठ्यूँ बोकेको यात्रा अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
सडक पुगेपछि स्थानीयले दैनिक उपभोग्य सामान, खाद्यान्न तथा सेवा सुविधाको सहज पहुँच पाउने भएकाले यस निर्माणले बिच्छ्या क्षेत्रको विकासको ढोका खोल्ने अपेक्षा गरिएको छ।