तिला गाउँपालिकाको घोडेगाउँमा मिल सञ्चालन, तीन घण्टाको पैदल पिसानी यात्राबाट मुक्ति

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कुटानी-पिसानी मिल सञ्चालनमा, ७६ घरधुरी लाभान्वित


  • नमस्ते कर्णाली

  • १८, जेष्ठ २०८२

    जुम्ला । तिला गाउँपालिका–६ स्थित घोडेगाउँमा सञ्चालित नयाँ कुटानी-पिसानी मिलले स्थानीयवासीहरूलाई तीन घण्टाको पैदल यात्रा र लामो पालोको झन्झटबाट मुक्ति दिलाएको छ।

    गाउँमै मिल सञ्चालन भएपछि ६४ वर्षीया काली रोकाया निकै खुसी देखिन्छिन्। अघिसम्म अन्न पिस्न छिमेकी गाउँ सुडी, रिपी, तुही, रारालिही वा कालिकोटको रतडा गाउँसम्म जानुपर्ने बाध्यता थियो। “परिवारको एउटा सदस्यले अन्न पिस्नका लागि दिनभर छुट्याउनुपर्थ्यो,” रोकायाले भनिन्, “अब भने गाउँमै अन्न पिस्न पाउँदा निकै सजिलो भएको छ।”

    स्थानीय जसु रोकायाले पनि अतीतका दुःख सम्झिँदै भनिन्, “हिउँदमा खोला सुक्थ्यो, चैत–वैशाखमा खडेरी लाग्थ्यो, घट्ट चल्दैनथ्यो, पालो कुरेर रात बिताउनुपर्थ्यो।” तर, अहिले गाउँमै सञ्चालित मिलमा सहजै पिठो पिस्न र तेल पेल्न पाउनु गाउँलेका लागि ठूलो राहत भएको उनले बताइन्।

    सौर्य ऊर्जाबाट सञ्चालित उक्त मिल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त १५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हो। मिल सञ्चालनसँगै घोडेगाउँका ७६ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

    तिला गाउँपालिका–६ का वडाध्यक्ष जङ्ग रोकायाले भने, “पहिले पानीको मुहान सुक्दा घट्टहरू बन्द हुन्थे, तर अब समयको बचत मात्रै होइन, महिला र वृद्धवृद्धाको शारीरिक श्रम पनि घटेको छ।”

    उनका अनुसार पिसानीको सेवा भने घोडेगाउँका बासिन्दाले मात्र पाउने भए पनि तेल पेल्ने र धान कुट्ने सेवा छिमेकी गाउँलेहरूका लागि पनि खुला गरिएको छ।

    स्थानीय स्रोत प्रयोग, दीगो समाधान

    स्थानीय स्रोतमा आधारित ऊर्जाको प्रयोग गरेर बनाइएको यो मिलले केवल खानेकुरा प्रशोधनमा मात्र नभई ग्रामीण उत्पादन र श्रम व्यवस्थापनमा दीगो समाधान दिन थालेको छ।

    चार्डपर्व, विवाह वा मौसमी व्यस्ततामा पिठो पिस्न समस्या हुने, पालो नआउँदा घट्टमै बास बस्नुपर्ने जस्ता अवस्था अब इतिहास बनेका छन्।

    स्थानीय महिलाहरूको अनुहारमा फर्किएको खुसी देखेर यो परियोजनाले सामाजिक र आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान दिएको प्रस्ट हुन्छ।

     

     

  • १९ जेष्ठ २०८२, आईतवार ०६:४१ प्रकाशित

  • Nabintech