१९, जेष्ठ २०८२
बर्दिया।गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूलाई गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) अद्यावधिक गर्न मोबाइल एप सञ्चालन सम्बन्धी तालिम प्रदान गरिएको छ।
गाउँपालिकाको खानेपानी सरसफाइ तथा स्वच्छता शाखाको आयोजना तथा सूचना प्रविधि शाखाको सहजीकरणमा सम्पन्न उक्त तालिममा सहभागी शिक्षकहरूलाई वास प्लानको अवधारणा, विद्यालयस्तरीय तथ्यांक संकलन प्रक्रिया र मोबाइल एपको प्रयोग विधिका बारेमा विस्तृत जानकारी दिइयो।
खानेपानी सरसफाइ तथा स्वच्छता शाखाका प्रमुख रमेश बजगाईंका अनुसार तालिमको उद्देश्य सहभागी शिक्षकहरूलाई वास प्लान अन्तर्गतको “स्कूल एप” को प्रयोगमा दक्ष बनाउँदै मोबाइलमार्फत विद्यालयहरूको सरसफाइ, खानेपानी पहुँच, हात धुने स्थल, शौचालयको अवस्था लगायतका सूचकहरू सहज रूपमा संकलन गर्न सक्षम बनाउनु हो।
तालिममा गेरुवा गाउँपालिकाका २६ वटा सामुदायिक विद्यालयबाट प्रतिनिधित्व गर्दै २६ जना शिक्षक तथा शिक्षिकाहरूले सहभागिता जनाएका थिए। तालिमको सहजीकरण सूचना प्रविधि अधिकृत कृष्ण सोडारीले गरेका थिए।
तालिममा सहभागीहरूले यस किसिमको प्रविधिमैत्री अभ्यासले स्थानीय तहमा योजना निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।