समृद्धि र विकासकाे जगमा आगामी बर्षकाे बजेट निर्माण गर्छाैं : मुख्यमन्त्री आचार्य

  • नमस्ते कर्णाली

  • २०, जेष्ठ २०८२
    दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएकाे नीति तथा कार्यक्रमकाे जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पार्नुभएकाे छ ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे आयाेजना तथा दायित्व अभियानकाे समन्वयमा साेमवार राप्ती उपत्यका देउखुरीमा आयोजित शासकीय सुधार, आर्थिक विकास र युवा उद्यमशीलता सम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान नीति तथा कार्यक्रमले उठाएका प्राथमिकतालाई बजेटले सम्बाेधन गर्ने बताउनुभयाे ।

    `सरकारले धेरै मेहनत गरेर नीति तथा कार्यक्रम ल्याएकाे छ । त्यसकाे जगमा नै उभिएर बजेट ल्याउछाैं । अहिले मन्त्रालयगत तहमा यही दिशामा काम अघि बढेकाे छ भन्ने विश्वास लिएको छु,´मुख्यमन्त्री आचार्यले भन्नुभयाे,`नीति तथा कार्यक्रम र बजेट एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन् । एक अर्कालाई जाेड्नेगरी काम अघि बढेका छन् । नीति तथा कार्यक्रमले बाेलेकाे कुरालाई बजेटले सम्बाेधन गर्नै पर्छ । सरकार गम्भीर भएर यसमा लागेकाे छ ।´

    त्यसैगरी, मुख्यमन्त्री आचार्यले प्रदेशलाई सार्वभाैम र अधिकारसम्पन्न बनाउने गरी संघीय तहमा सुझाव दिन आवश्यक रहेकाे धारणा राख्नुभयाे । यातायात क्षेत्र प्रदेशकाे एकल सुचिमा परेपनि ट्राफिक जरिवानाकाे राजस्व प्रदेशमा दाखिला नहुने जस्ता व्यवहारिक समस्याकाे समाधानका लागि वातावरण तयार गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

    `प्रदेशकाे आन्तरिक स्राेतकाे ठूलाे हिस्सा वन हाे । संघीय कानुनका कारण प्रदेशले खुलेर काम गर्न सकेकाे छैन । संघीय कानुन संशाेधनका लागि पटक–पटक पहल गरेका छाैँ,´ मुख्यमन्त्री आचार्यले भन्नुभयाे,`अहिले राजस्व संकलनमा सुधार भएको छ । डेढ अर्ब राजस्व वृद्धी भएकाे छ । अपेक्षा अनुसार वनबाट राजस्व संकलन हुन नसक्दा सरकारले चाहेका कामहरूलाई अघि बढाउन समस्या पर्दाे रहेछ ।´

    प्रमुख सचिव बाबुराम अधिकारीकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनीमा स्राेत वृद्धिका लागि ध्यान दिइने बताउनुभयाे ।

    साे अवसरमा पूर्व अर्थ सचिव रामेश्वर खनालले कृषि, उद्योग, व्यापार, पर्यटन, नवीकरणीय उर्जा र खानीका क्षेत्रमा अपार सम्भावना रहेकाे उल्लेख गर्दै, सबल नीति कार्यान्वयनबाट लुम्बिनीलाई आर्थिक केन्द्र बनाउन सकिने बताउनुभयाे ।

    पूर्व सचिव कृष्ण ज्ञवालीले प्रदेश सुदृढ बनाउन सुशासन प्रवर्द्धनमा प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयाे । उहाँले विधि, विवेक र आचरणमा सुधार गर्दै सदाचारको अभ्यास आवश्यक रहेको बताउनुभयाे ।

    दायित्व अभियान अध्यक्ष डा. पुकार मल्लले उद्यम–केन्द्रित राेजगारी सिर्जनामा जाेड दिनुपर्ने धारणा राख्नुभयाे ।

    कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कविन्द्र नेपालले सार्वजनिक चासाे र सराेकारका बिषयहरूमा छलफल गर्दै परिमार्जन र सुझाव लिने गरी नीति संवादलाइ चरणबद्ध रुपमा निरन्तरता दिइने जानकारी दिनुभयाे ।

  • २१ जेष्ठ २०८२, मंगलवार ०६:३९ प्रकाशित

  • Nabintech