२१, जेष्ठ २०८२
बाँके ।नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमियाबाट पीडित बिरामीहरूका लागि छुट्टै १६ शय्याको वार्ड सञ्चालनमा आएपछि उपचारमा उल्लेखनीय सहजता आएको छ।
गत पुस महिनाबाट सुरु भएको सिकलसेल वार्ड सञ्चालनपछि शय्याको अभावका कारण उपचार नपाउने समस्या अन्त्य भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभयो।
“सिकलसेलका बिरामीले अब बेड नपाएर फर्किनुपर्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “उपचार प्रक्रिया सहज र मर्यादित बनेको छ।”
भेरी अस्पतालमा सिकलसेल एनिमियाको जाँच निःशुल्क गरिँदै आएको छ। सिकलसेल पुष्टि भएका बिरामीलाई एक लाख रुपैयाँ बराबरको औषधि र जाँच सेवा प्रदान गरिँदै आएको डा. सुवेदीले बताउनुभयो।
सङ्घीय र प्रदेश सरकारले छुट्टाछुट्टै बजेट विनियोजन गरेकाले पनि उपचार सेवा प्रभावकारी भएको उहाँको भनाइ छ।
थारू समुदायमा वंशाणुगत रूपमा फैलिएको यो रोगका कारण भेरी अस्पतालमा हालसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १,११२ जना सिकलसेल बिरामी दर्ता भएर नियमित उपचार लिइरहेका छन्।
सिकलसेल परामर्शदाता उषाकुमारी वलीका अनुसार, २०७२ सालदेखि परीक्षणमा सिकलसेल पुष्टि भएका बिरामीहरू भेरी अस्पतालमा दर्ता भएका हुन्।
उपचारमा मात्र होइन, बिरामी र परिवारजनलाई मनोसामाजिक परामर्श तथा रोगसँग जिउन आवश्यक सावधानीबारे जानकारी दिने कार्य पनि अस्पतालमार्फत भइरहेको छ।
सिकलसेल पीडित बारबर्दियाका दीपक थारूले छुट्टै वार्ड सञ्चालनसँगै आफूहरूलाई उपचारमा ठूलो राहत भएको बताउनुभयो।
“पहिले बेड पाउँदैन थियौं, अहिले सजिलै उपचार पाइन्छ,” उहाँले भन्नुभयो।
यता बाँकेको कोहलपुर नगर अस्पतालमा २०७७ चैतदेखि सिकलसेल परीक्षण सेवा सुरु भएको हो। हालसम्म १३,५०० जनाको परीक्षण गर्दा ७० जनामा सिकलसेल पुष्टि भएको कोहलपुर अस्पतालका सिकलसेल स्रोत व्यक्ति शिव गौतमले जानकारी दिनुभयो।
राप्ती सोनारी गाउँपालिकाको वडा नं २, ८ र ९ सिकलसेल प्रभावित क्षेत्र हुन्। स्क्रिनिङ शिविरमा ७ जना बिरामी फेला परेका भए पनि बजेट अभावका कारण यो वर्ष शिविर सञ्चालन हुन नसकेको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो।
सिकलसेल एनिमिया विशेषज्ञ डा. राजन पाण्डेका अनुसार यो रोग वंशाणुगत रूपमा मात्र सर्ने रक्तअल्पताको एक प्रकार हो। सामान्यतया रक्तकोष गोलो र १२० दिनसम्म टिक्ने भए पनि सिकलसेलमा कोष हसियाजस्तो भई २० दिनमै नष्ट हुने हुँदा बिरामीमा रक्तअल्पता देखा पर्ने बताउनुभयो।
“बिवाहपूर्व जाँच गराउँदा यो रोगबाट बच्न सकिन्छ,” डा. पाण्डेले भन्नुभयो, “थारू समुदायमा व्यापक भए पनि अन्य समुदायमा पनि फाटफुट देखिन्छ, त्यसैले सबैले सतर्कता अपनाउनु आवश्यक छ।”
सिकलसेलजस्ता दीर्घकालीन जनस्वास्थ्य चुनौतीसँग जुझ्न राज्य, अस्पताल र समुदायको संयुक्त प्रयास आवश्यक रहेकोमा सरोकारवालाहरू एकमत छन्।