वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघको तीव्र आपत्ति

  • नमस्ते कर्णाली

  • जेष्ठ २३,२०८२
    बाँके । वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकार उमेश कार्कीमाथि गरिएको अभद्र व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपालले गम्भीर आपत्ति जनाएको छ। संघले आज एक प्रेस वक्तव्य जारी गर्दै घटनाको घोर निन्दा गर्दै दोषीबाट तत्काल सार्वजनिक माफीको माग गरेको छ।

    बिहिबार नेकपा (एस) पार्टी कार्यालय परिसरमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दासम्बन्धी जानकारी लिन पुगेका पत्रकारहरूमाथि दुर्व्यवहार भएको हो। पत्रकार उमेश कार्कीले सोधेको प्रश्नमा जवाफ दिनुको सट्टा वरिष्ठ अधिवक्ता थापाले क्यामेरामै हात प्रहार गरेका थिए।

    संघका महासचिव पवनप्रसाद फुयालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “कसैले प्रश्नको उत्तर नदिन सक्ने स्वतन्त्रता हुन्छ, तर सञ्चारकर्मी र सञ्चार उपकरणमाथि शारीरिक आक्रमण गर्नु कुनै हालतमा स्वीकार्य हुन सक्दैन। अझ अधिवक्ता जस्तो उच्च विधिक हैसियतमा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु अत्यन्त खेदजनक र दुर्भाग्यपूर्ण हो।”

    विज्ञप्तिमा थप उल्लेख गरिएको छ कि प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका सवालमा पूर्ण जानकार व्यक्तिबाटै भएको यस्तो गैरजिम्मेवार कदमले प्रेस स्वतन्त्रताको जगमाथि नै प्रहार गरेको छ। संघले घटनाप्रति चिन्ता व्यक्त गर्दै वरिष्ठ अधिवक्ता थापाबाट सार्वजनिक रूपमा क्षमा याचना गर्न आग्रह गरेको छ।

    संघले सम्पूर्ण सरोकारवालाहरूलाई सञ्चारकर्मीहरूको काममा कुनै पनि प्रकारको अवरोध नगर्न र उनीहरूको सुरक्षामा ध्यान दिन आग्रहसमेत गरेको छ। “सत्य सूचना प्रवाहका लागि समर्पित सञ्चारकर्मीहरूलाई सुरक्षित र सम्मानजनक कार्य वातावरण दिनु हाम्रो साझा दायित्व हो,” विज्ञप्तिमा भनिएको छ।

     

     

  • २४ जेष्ठ २०८२, शुक्रबार ०७:०३ प्रकाशित

  • Nabintech