जेष्ठ २३, २०८२
बैतडी । गृह जिल्ला बैतडीमा रहनुभएका उद्योग, वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीहरूले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार बैतडीको देहिमाण्डौँमा आयोजित इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले उद्यमीहरूलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गर्नुभयो ।
सरकारले उद्योगमैत्री नीतिहरू लागु गरिरहेको भन्नुहुँदै युवा तथा महिला उद्यमीहरूका लागि सहुलियतका कार्यक्रम ल्याएको बताउनुभयो । सीमावर्ती भारतीय बजारबाट सामान प्रशस्त आयात भइरहेकोमा सोही अनुरूप निर्यातजन्य उत्पादनमा समेत जोड दिन उद्यमीहरूलाई उहाँले आग्रह गर्नुभयो ।
मन्त्री भण्डारीले बैतडी जिल्लाका प्रमुख विकास निर्माणका आयोजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल–भारत सिमानाका झुलाघाटस्थित महाकाली नदीमा मोटरेवल पुल निर्माणको प्रक्रिया अघि बढेको र आगामी दिनमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला थप प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
उहाँले जिल्लाको आर्थिक, भौतिक तथा पर्यटकीय विकासका लागि आफ्नो ध्यान केन्द्रित भएको भन्नुहुँदै आफूले जिल्लावासीसँग गरेका प्रतिवद्धताहरु पुर गर्न लागिपरेको बताउनुभयो ।
उहाँले बैतडीसहित सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताउनुभयो । “प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो ।” उहाँले भन्नुभयो, “स्रोत साधनको उपयोग र जनसाङ्ख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो, प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसरहरू विद्यमान छन् । यहाँ प्रशस्त वन स्रोत, वन उत्पादन, जडीबुटी तथा औषधीजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् । यसको उपयोग गर्दै आर्थिक विकासमा जोड दिनु जरुरी छ । ”
वर्तमान सरकार नीतिगत सुधारमार्फत जनतालाई सुविधा प्रदान गर्न लागिपरेको बताउनुभयो । उहाँले बजेटमार्फत सरकारले स्टार्टअप सहुलियत कर्जा कार्यक्रम, सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग, सरकारी निकायका सेवाहरू अनलाइन माध्यमबाट प्रदान गर्ने लगायतका लोकप्रिय कार्यक्रमहरू ल्याएको बताउनुभयो ।