जुम्लाको दुर्गम मणिसाँघुमा हिमानी ट्रष्टको पहलमा बर्थिङ सेन्टर निर्माण हुँदै, पूर्वयुवराज्ञी हिमानी शाहद्वारा शिलान्यास

  • नमस्ते कर्णाली

  • २६, जेष्ठ २०८२
    जुम्ला । हिमानी ट्रष्टको पहलमा जुम्लाको दुर्गम गाउँ गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा बर्थिङ सेन्टर निर्माण हुन लागेको छ। सुरक्षित मातृत्व सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण हुने उक्त बर्थिङ सेन्टरको शिलान्यास आइतबार पूर्वयुवराज्ञी हिमानी शाहले गर्नुभयो। उहाँसँगै छोरा हृदयेन्द्र शाह पनि उपस्थित थिए।

    शनिबार नै जुम्ला आइपुगेका उनीहरू सदरमुकाम खलंगाबाट झन्डै दुई घण्टाको गाडी यात्रा गरेर मणिसाँघु पुग्नुभएको हो। हिमानी ट्रष्टले दुर्गम बस्तीमा महिलाहरूलाई सुरक्षित रूपमा सुत्केरी गराउन गाह्रो भइरहेको अवस्थालाई मध्यनजर गर्दै बर्थिङ सेन्टर निर्माण गर्न लागेको हो।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा संघीय सांसद ज्ञानेन्द्र शाहीले बर्थिङ सेन्टरको शिलान्यास कार्यक्रममा बोल्दै हिमानी ट्रष्टको प्रयासलाई अत्यन्तै सराहनीय बताउनुभयो। उहाँले भन्नुभयो, “अब अस्पतालसम्म पुग्न नसक्ने आमाहरूको अकाल मृत्यु हुने अवस्था अन्त्य हुनेछ। यो केन्द्र सुरक्षित सुत्केरी सेवाको उदाहरण बन्नेछ।”

    गुठीचौर–१ का वडाध्यक्ष अर्जुनकुमार महाताराका अनुसार करिब १ करोड ५० लाख रुपैयाँ लागतमा आवाससहितको बर्थिङ सेन्टर निर्माण गरिनेछ। दुईवटा भवन बन्ने योजना अनुसार ६ महिनाभित्र निर्माण कार्य सकिने र सेवा सञ्चालनमा आउने जानकारी दिनुभयो। सेन्टर सञ्चालनमा आएपछि गुठीचौर–१ र २ नम्बर वडाका ९ वटा बस्तीका महिलाहरू लाभान्वित हुनेछन्।

    “गाउँमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा धेरै गर्भवती महिलाहरू घरमै सुत्केरी हुने गरेका छन्। कतिपय त अस्पताल पुर्‍याउनै नसकी बाटोमै सुत्केरी भइरहेका छन्,” वडाध्यक्ष महाताराले भन्नुभयो, “अब सुरक्षित सुत्केरी सेवा गाउँमै उपलब्ध हुने भएको छ। यो हामी दुर्गमवासीका लागि निकै खुसीको खबर हो।”

    गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पनि हिमानी ट्रष्टको योगदानलाई स्वागत गर्दै भन्नुभयो, “दुर्गममा गर्भवती र सुत्केरी महिलाहरूको अवस्था अत्यन्त जटिल छ। बर्थिङ सेन्टर बनेपछि अब आमाहरू ढुक्कसँग सेवा लिन सक्नेछन्।”

    बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय लेखक महताराले नि:शुल्क रूपमा जग्गा दान गर्नुभएको छ। उहाँलाई पूर्वयुवराज्ञी शाहले दोसल्ला ओढाई कदरपत्रद्वारा सम्मान गर्नुभयो।

    तीन वर्षअघि हिमानी ट्रष्टले गुठीचौर–१ मा रहेको हिमाली रम्भा आवासीय विद्यालयमा लत्ताकपडा वितरण गरी सहयोग गरेको स्मरणीय छ।

     

     

  • २७ जेष्ठ २०८२, सोमबार ०६:४५ प्रकाशित

  • Nabintech