२७, जेष्ठ २०८२
दाङ । लुम्बिनी प्रदेशबाट १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी ११३ जनाले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरूलाई लुम्बिनी प्रदेश सरकारले बिदाइ गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सोमबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित एक कार्यक्रमबीच प्रतियोगितामा भाग लिने टोलीलाई सामूहिक बिदाइ गर्नुभयो ।
भलिबल, उसु, कराँते, तेक्वान्दो, कबड्डी र एथलेटिक्स गरी ६ विधामा प्रतिस्पर्धा गर्ने ९८ जना खेलाडी र १३ जना प्रशिक्षकलाई बिदाइ गरिएको हो ।
उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न मन्त्री ढकालले खेलाडीहरूलाई हौसला दिनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । साथै, नियमित प्रतियोगिता र संरचनागत सुधारमा विशेष ध्यान दिइएको पनि उहाँले उल्लेख गर्नुभयो ।
यसपटक लुम्बिनी प्रदेशले उपाधि हात पार्ने गरी प्रतियोगितामा सहभागिता जनाउन थालेको खेलकुद परिषद्का सदस्य–सचिव तिरणदाज गौतमले जानकारी दिनुभयो । यसअघि लुम्बिनीले ११ औँ, १२ औँ र १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको थियो । १४ औँ संस्करणको उपाधि भने सुदूरपश्चिम प्रदेशले जितेको थियो ।
१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता काठमाडौँमा यही जेठ २८ गतेदेखि सुरु हुँदैछ ।