सशस्त्रको कडाई, तस्करीमा गिरावट : बाँकेबाट साढे ३ करोडको अवैध सामग्री बरामद

  • नमस्ते कर्णाली

  • २७, जेष्ठ २०८२

    बाँके । सशस्त्र प्रहरी बलको कडाईका कारण बाँके जिल्लामा अवैध तस्करी उल्लेखनीय रूपमा घटेको छ। सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेका अनुसार गत फागुनदेखि जेठको मध्यसम्मको अवधिमा मात्र ३ करोड ६९ लाख ५९ हजार ८०३ रुपैयाँ बराबरको अवैध सामग्री नियन्त्रणमा लिइएको छ।

    सीमा क्षेत्रको निगरानी कडा बनाएपछि लत्ताकपडा, हार्डवेयर, औषधि, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक सामग्री, खाद्यान्न, कुखुरा तथा तिनीहरूको ओसारपसारमा प्रयोग गरिने सवारीसाधनसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

    सशस्त्र प्रहरी बल नं.३० गणअन्तर्गतका गुल्म, बिओपी तथा फरवार्ड बेसहरूले नियमित गस्ती तथा निगरानीमार्फत यस्तो तस्करी नियन्त्रणमा लिएका हुन्। नेपाल–भारत सीमामा हुने चोरी–तस्करीमा संलग्न व्यक्तिहरू सशस्त्र प्रहरीको कडाईका कारण असफल हुन थालेका छन्।

    सशस्त्र प्रहरीका अनुसार, सीमावर्ती गाउँका स्थानीयलाई साना परिमाणमा व्यक्तिगत सामग्री ल्याउन सहज बनाइएको भए पनि ठूला मात्रामा गरिने तस्करीमा पूर्ण रोक लगाइएको छ।

    नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नं.३० गण मातहतका बिओपी जयसपुर, गुल्म जमुनाहा, बिओपी बढैया, साईगाउँ, कालाबन्जार, खडैंचा, गंगापुर, नरैनापुर, र कटकुईयालगायतका बिओपीहरूले अवैध गतिविधिमा संलग्नहरूलाई नियन्त्रण गर्दै तस्करीमाथि अंकुश लगाएका छन्।

    विशेषतः भारतबाट भित्र्याइने बोइलर कुखुराको अवैध कारोबार पूर्ण रूपमा बन्द भएको सशस्त्र प्रहरीले जनाएको छ। एक जना स्थानीय तस्करीमा संलग्न व्यक्ति भन्छन्, “सशस्त्र प्रहरीले अब कुखुरा तस्करी गर्न नै दिँदैन। समातिहाल्छ, सवारीसाधन पनि जफत गर्छ। जोखिम मोल्ने कुनै आधार नै छैन।”

    सशस्त्र प्रहरीको तीव्र निगरानी र सक्रियताले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणतर्फ सकारात्मक संकेत देखिएको छ। अब स्थानीय तथा व्यवसायिक सुरक्षामा पनि थप विश्वास बढ्ने अपेक्षा गरिएको छ।

  • २८ जेष्ठ २०८२, मंगलवार ०७:२२ प्रकाशित

  • Nabintech