नेपालगञ्जमा कसगर समुदायका लागि नेतृत्व र वित्तीय सशक्तिकरण अभिमुखिकरण सम्पन्न

  • नमस्ते कर्णाली

  • २७, जेष्ठ २०८२

    बाँके । घोडा, खच्चड र गधा पालेर जीविकोपार्जन गर्दै आएका नेपालगञ्जका कसगर समुदायका महिला तथा पुरुषलाई लक्षित गरी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

    ‘नेतृत्व, वित्तीय प्रवर्द्धन र वकालत’ शीर्षकमा आयोजित उक्त कार्यक्रम द ब्रुक हस्पिटल फर एनिमल यूकेको आर्थिक सहयोग तथा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको आयोजनामा सम्पन्न भएको हो।

    कार्यक्रममा समुदायभित्र नेतृत्वदायी भावना विकास गर्ने, वित्तीय व्यवस्थापनबारे जानकारी दिनुका साथै आफ्नो अधिकारको वकालत गर्ने सीपहरू प्रदान गरिएको थियो। सहजकर्ता समिपा दाहालका अनुसार, अभिमुखिकरणले समुदायमा रहेको सामाजिक तथा आर्थिक पछौटेपनलाई हटाउनेतर्फ टेवा पुर्‍याउनेछ।

    “कसगर समुदायले परम्परागत रूपमा जनावर पालेर जीविकोपार्जन गर्दै आएका छन्। तर पुरुषहरू मात्रै आम्दानीका गतिविधिमा सक्रिय हुँदा महिलाहरू आर्थिक रूपमा पछाडि परिरहेका छन्,” दाहालले भनिन्, “त्यसैले दुबैलाई आम्दानी र बचतका उपायहरूमा सिकाउन जरुरी भएको हो।”

    पशु चिकित्सक डा. प्रमोद कुमार चौधरीका अनुसार, नेतृत्व विकास र वित्तीय सशक्तिकरणको सुरुवाती आधार तयार पार्न यो एकदिने अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

    नेपालगञ्ज–५, एमपी स्कुल रोड आसपासका ईँटाभट्टा, माटाका भाँडा बनाउने काम र ज्यालामजदुरीमा संलग्न समुदायका ३५ जना महिला तथा पुरुष कार्यक्रममा सहभागी थिए।

    कार्यक्रमले महिलाहरूलाई पनि आर्थिक गतिविधिमा समान सहभागिता जनाउन प्रेरित गर्ने आयोजकहरूको अपेक्षा छ।

     

     

  • २८ जेष्ठ २०८२, मंगलवार ०७:२५ प्रकाशित

  • Nabintech